पोखरा, ७ चैत्र। होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तीव्र रूपमा अघि बढाइएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरू गठन गरी कार्यप्रगति अघि बढाइएको जानकारी दिए।
महोत्सवलाई प्रवर्द्धन गर्न संघले पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न गरिसकेको र पश्चिम नेपालमा पनि चाँडै सञ्चालन गरिने बताइएको छ। पोखराका होटलमा पाहुनालाई आकर्षित गर्न संघले महोत्सव अवधिमा सदस्य होटलहरूमा बसोबास गर्ने पर्यटकलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ।
ड्यामसाइडदेखि खहरेसम्म सञ्चालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। नेपाली संस्कृति र परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ महोत्सव आयोजना गर्न लागिएको महासचिव राजेन्द्र ढकालले बताए। रैथाने खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, पर्यटक दौड, पप कन्सर्ट, कृषि तथा हस्तकलाका सामग्रीको प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण रहनेछन्।
पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा आयोजना हुन लागेको महोत्सवले फेवा तालको संरक्षण तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा होटल संघ नेपालले महोत्सवलाई सहयोग गर्नेछन्।
































