पोखरा, ८ चैत्र। ऊर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्ने अभिव्यक्ति दिएपछि संघीय संसदमा चर्को बहस भएको छ। बिहीवार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले मन्त्री खड्काको भनाइप्रति आपत्ति जनाउँदै लोडसेडिङ अन्त्यको श्रेय नेपालकै विद्युत् उत्पादन व्यवस्थापनलाई जानुपर्ने बताए।
सांसद गैरेले नेपालले भारतबाट बिजुली किन्दा भारतले पनि नेपालबाट बिजुली किन्ने गरेको उल्लेख गर्दै यो व्यापारिक सम्बन्ध भएको र भारतकै कारण मात्र लोडसेडिङ अन्त्य भएको दाबी गलत भएको बताए। साथै, ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबीच फरक अभिव्यक्ति आउँदा जनतामा अन्योल फैलिएको भन्दै उनले आपत्ति जनाए।
बुधबार राष्ट्रियसभा बैठकमा मन्त्री खड्काले भारतले ४५० मेगावाट विद्युत दिएपछि लोडसेडिङ अन्त्य भएको दाबी गरेका थिए। उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पनि तीव्र बहस सुरु भएको छ। हालै भारतबाट रातिको समयमा आउने विद्युत आपूर्ति रोकिएपछि नेपालमा पुनः लोडसेडिङको त्रास बढेको छ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार भारतबाट विद्युत आयातको सम्झौता नवीकरणका लागि पहल भइरहेको छ। सम्झौता नभए उद्योग क्षेत्रमा लोडसेडिङ बढ्ने सम्भावना रहेको छ। नेपालमा सन् २००१ देखि २०१६ सम्म गम्भीर लोडसेडिङ रहँदा उद्योग, व्यापार र जनजीवन प्रभावित भएको थियो।































