पोखरा, ७ माघ। कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। दिउँसो २ बजेबाट सुरु हुने प्रदेशसभाको यो छैठौं अधिवेशनको तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ। चार महिनापछि सुरु हुन लागेको अधिवेशनका लागि सरकारले पर्याप्त विजनेश तयारी गरेको छ।
अधिवेशनको पहिलो दिन सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्ने कार्यक्रम छ। साथै, केही प्रदेश ऐन संशोधन गर्न बनेका अध्यादेश प्रस्तुत हुनेछन्। सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशलाई अनुमोदनका लागि पेश गर्ने कार्यसूची पनि छ।
त्यस्तै, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न तयार गरिएको विधेयक टेबल गरिनेछ।
आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले अधिवेशनसँग सम्बन्धित मन्तव्य राख्ने अवसर पाउने छन्। यस अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको कार्यसूचीले प्रदेशसभाको भूमिका थप मजबुत बनाउने विश्वास गरिएको छ।




























