पोखरा, ७ माघ। पोखरामा आइतबारदेखि दाइँ महोत्सव सुरु भएको छ। परम्परागत शैलीमा असारमा लगाएको धान भित्र्याउने खेतीपद्धतिलाई नयाँ पुस्ता र विदेशी पर्यटकमाझ चिनाउन यो महोत्सव आयोजना गरिएको हो।

पोखरा पर्यटन परिषद्को आयोजनामा सुरु भएको महोत्सवले ‘सबै मौसमका लागि पोखरा’ भन्ने नारालाई प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिएको छ। पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने यो महोत्सवले परम्परागत कृषि प्रणालीको संरक्षण र पुस्तान्तरणमा सहयोग पुर्‍याउने परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।

उनका अनुसार, महोत्सवले पर्यटकलाई नेपालको परम्परागत खेतीपद्धति, असारे भाका, र दही च्युराको परम्परागत अभ्याससँग प्रत्यक्ष अनुभव दिलाउनेछ। पोखराको सहरीकरणसँगै हराउँदै गइरहेको कृषि परम्परालाई जीवन्त राख्न महोत्सवको विशेष भूमिका रहने विश्वास गरिएको छ।

परिषद्का महासचिव जीवनराज सापकोटाले खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा आएको ह्रासलाई रोक्न र कृषि पद्धतिको जगेर्ना गर्न दाइँ महोत्सवले महत्त्वपूर्ण योगदान दिने बताए।

महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्दै पोखरालाई सबै मौसममा भ्रमणयोग्य गन्तव्यका रूपमा थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। साथै, यसले किसानलाई आफ्नो पेसाप्रति प्रेरित गर्दै कृषि क्षेत्रमा थप उत्साह जागरण गर्ने आयोजकको विश्वास छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0