पोखरा, ८ माघ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ हुने भएको छ। ३३ औँ संस्करणको रुपमा आयोजना हुने यो मेला माघ १० देखि माघ १७ गतेसम्म पोखरा–९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ। मेलामा गण्डकी प्रदेशका ठूला, मझौला र साना उद्योगका उत्पादनसहित रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी र अन्य प्रदेशका असल अभ्यासलाई समेत समेटिने आयोजकले जनाएको छ।

मेलाका अवसरमा १२ औँ क्यान इन्फोटेक २०२५ र चौथो मोवाइल एक्सपो २०२५ पनि आयोजना गरिने छ। मेलामा सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ आविष्कार, सफ्टवेयर निर्माण, र यसको बजार प्रवर्द्धनसँग सम्बन्धित विषयहरूको प्रदर्शनी हुनेछ। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत सीसी टिभी सर्भिलेन्सका विषयमा समेत जानकारी गराइनेछ। मोवाइल एक्सपो अन्तर्गत ५० प्रतिशतसम्म छुट, एक्सचेञ्ज अफर, र किस्तामा खरिद सुविधा उपलब्ध गराइनेछ।
गण्डकी प्रदेश सरकारसँगको समन्वयमा आयोजना हुने मेलाले प्रदेश सरकारको आत्मनिर्भर र समुन्नत प्रदेश बनाउने लक्ष्यलाई प्रवर्द्धन गर्नेछ। मेलामा सातै प्रदेशका औद्योगिक उत्पादन, संस्कृति, र मौलिक परिकारलाई समेट्ने तयारी छ। आयोजकले उत्पादन र संस्कृति प्रदर्शनीबाट निजी क्षेत्रबीच सहकार्य र सम्भावनाको नयाँ ढोका खोल्ने अपेक्षा गरेको छ।

मेलामा स्वस्थ मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम, महिला उद्यमशिलता प्रवर्द्धनका लागि विशेष स्टल, र सीप सिकाउने कार्यक्रमसमेत रहनेछन्। अर्थतन्त्रको वर्तमान अवस्था, नवप्रवर्तन, र पोखराको पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्न विज्ञ र सरोकारवालासँग ‘टक शो’ आयोजना गरिनेछ।
मेलाको सफलताका लागि ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। मेलाको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड छन् भने बाल्ट्रा मुख्य प्रायोजक रहेको छ। ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको मेलामा जेष्ठ नागरिक, अपाङ्ग, राष्ट्रसेवक, र विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
यो मेलाको सुरुवात २०४२ सालमा संघकै अगुवाइमा भएको थियो। पोखरामा व्यवस्थित रुपमा मेला आयोजना गर्ने पहलले नेपालभरका औद्योगिक मेलालाई नयाँ गति दिएको इतिहास छ। समयसँगै मेलाको स्वरूप व्यापक हुँदै अहिले राष्ट्रिय स्तरको मेला र महोत्सवका रुपमा परिणत भएको छ।





























