पोखरा, १३ माघ । गण्डकी प्रदेशको स्थापना दिवस यसवर्ष माघ २२ गते एकैदिन मनाइने भएको छ। यसअघि प्रदेश सभा र प्रदेश सरकारले आ–आफ्नो स्थापना दिवस अलगअलग तिथिमा मनाउँदै आए पनि यसपटक दुवै कार्यक्रम एकैदिन मनाउने निर्णय गरिएको हो। प्रदेशसभाले आफ्नो पहिलो बैठक २०७४ माघ २२ गते बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको थियो भने सरकारको तर्फबाट २०७४ फागुन ४ गतेकाे दिनलाई स्थापना दिवसका रूपमा मनाइन्थ्यो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा शनिबार बसेको बैठकले यो वर्ष माघ २२ गतेलाई नै गण्डकी प्रदेश दिवसका रूपमा मनाउने निधो गरेको छ। बैठकमा मुख्यमन्त्री पाण्डेले दुई फरक दिनमा कार्यक्रम गर्ने पुरानो परम्पराले अनावश्यक भ्रम सिर्जना गरेको भन्दै यस वर्षबाट एकीकृत रूपमा दिवस मनाउने पहल गरेका थिए। साथै, सरकारले यसपटक फागुन ४ गते सार्वजनिक बिदा कटौती गरेको छ।
दिवस मनाउनका लागि मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा भएको बैठकले प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय तयारी समिति गठन गरेको छ। समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी सदस्य रहेका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम प्रदेश सभा सचिवालय परिसरमा हुने तय गरिएको छ। तयारी समिति गठन भएसँगै दिवसलाई भव्य र प्रभावकारी बनाउन विभिन्न गतिविधिहरूको तयारी सुरु भएको छ।




























