पोखरा, १४ माघ । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोमा भइरहेको अवरोध हटाइ छाँगोको नियमित सञ्चालन गर्ने निर्णय गरेको छ। नगर प्रमुख धनराज आचार्यको नेतृत्वमा भएको बैठकले पाताले छाँगोको सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको जिम्मामा दिने निर्णय गरेको हो। यससँगै पर्यटन शुल्क उठाउने कार्य पनि महानगर आफैंले गर्ने र महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु फछ्र्योटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।

पाताले छाँगोको सञ्चालन र व्यवस्थापन २०३४ सालदेखि छोरेपाटन माविले गर्दै आएको थियो। तर, महानगरपालिकाले २०८० माघ १ गतेदेखि यसलाई सिलबन्दी गर्दै छाँगोको व्यवस्थापन आफैंले लिएको हो। महालेखा परीक्षकको कार्यालयको निर्देशन अनुसार, महानगरपालिकाले पाताले छाँगोबाट उठाएको पर्यटन शुल्क असुल गर्नुपर्ने बताइएको छ। यसबारे स्थानीय बासिन्दाले विरोध गरेका थिए, विशेषगरी उनीहरूले महानगरले निजी संस्थालाई ४० वर्षको लागि ठेक्का दिएपछि छाँगो खोस्नु अनुपयुक्त ठानेका थिए।

महानगरले सेती क्यान्योन प्रालिलाई छाँगोमा सिसा पुल र अन्य पूर्वाधार निर्माणका लागि ४० वर्षको सम्झौतासमेत गरेको थियो, जुन सम्झौतामा स्थानीयको असहमतिका कारण केही समस्याहरु उत्पन्न भएका थिए। त्यसैको समाधान गर्न बैठकले सार्वजनिक-निजी साझेदारी अवधारणामा थप छलफल गर्ने निर्णय गरेको छ।

बैठकमा नगर प्रमुख आचार्यसँगै कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्ष र अन्य सरोकारवालाले समेत सहभागिता जनाएका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0