पोखरा, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएका अध्यादेशमाथि गुण–दोषका आधारमा बहस गर्ने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस विषयमा निर्णय गर्दै आगामी संसद् अधिवेशनमा यसमाथि खरो बहस गर्ने जनाएको हो।

पार्टी कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठकको निर्णयका बारेमा जानकारी दिँदै भने, “संसदको आसन्न अधिवेशनको तीन हप्ताअघि हतारहतार सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्छौँ।” उनले थपे, “यी अध्यादेशका अन्तरवस्तुगत र सारमाथि रास्वपाका सांसदहरूले गुण–दोषका आधारमा बहस गर्ने निर्णय गरेका छौँ।”

बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली, २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली, २०८१ र निर्वाचन आयोगको नियमावली, २०८१ पारित गरेको छ। यसैगरी, पार्टीले आगामी फागुनमा सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने निर्णय गरेको छ। उक्त संवाद कार्यक्रमको नेतृत्व विभिन्न प्रदेशका केन्द्रीय सचिवालय सदस्य र पदाधिकारीहरू गर्नेछन्। सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल, कर्णाली प्रदेशमा लिमा अधिकारी, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, गण्डकी प्रदेशमा शिशिर खनाल, बागमती प्रदेशमा सन्तोष परियार र बसुमाया तामाङ, मधेस प्रदेशमा विराजभक्त श्रेष्ठ र मनिष झा, र कोशी प्रदेशमा सुमना श्रेष्ठ र रमेश प्रसाईँले नेतृत्व गर्नेछन्।

बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाई स्वतन्त्र जनप्रतिनिधिलाई रास्वपामा आबद्ध गराउन निर्देशन दिएको छ। साथै, केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गर्ने निर्णय समेत गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0