पोखरा, १५ माघ । पोखराका मुख्य सहरी क्षेत्रमा विद्युत् पोल र तार हटाएर तिनीहरूलाई भूमिगत गरिएको छ। यससँगै सडकहरू खुला र फराकिलो देखिन थालेका छन् र शहरको दृश्यमा ठूलो परिवर्तन आएको छ। अब पर्यटक र स्थानीयवासीहरूलाई पहिल्यैभन्दा स्पष्ट हिमालको दृश्य देख्न सजिलो भएको छ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सडकहरूमा विद्युत् र टेलिफोन, केबल, इन्टरनेटका तार भूमिगत गर्दैछन्। पोखरा महानगरपालिका–१० कुँडहरदेखि अमरसिंहचोक, बुद्धचोक हुँदै पृथ्वीचोकसम्म विद्युत् लाइन बिछ्याइसकिएको छ। आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लेकसाइट क्षेत्रमा पनि काम सकिएको छ।

“तार भूमिगत भइसकेको छ र अहिले घरघरमा बिजुली पुर्याउने काम भइरहेको छ। साथै, केबल र इन्टरनेटका तारलाई पनि भूमिगत गर्ने काम भइरहेको छ,” इञ्जिनियर सुवेदीले भने। यसका साथसाथै प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गर्दै तार बिछ्याउने काम गरिरहेको छ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरणका लागि रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ। तार भूमिगत गर्दा ग्राहकको घरघरमा बिजुली पुर्याउने जिम्मेवारी पनि प्राधिकरणकै हुनेछ। यस आयोजनाले सहरको सौन्दर्यमा सुधार ल्याउनका साथै दुर्घटनाका जोखिमलाई कम गर्ने अपेक्षा गरिएको छ।

“जीर्ण पोल र तार हटाउने कार्यले सहरको सौन्दर्यलाई सुधार गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ,” इञ्जिनियर सुवेदीले भने। पोखरा उपत्यकाभरका पुराना पोल र तार विस्थापित गर्न प्राधिकरणले ठूलो बजेटको आवश्यकता रहेको जनाएको छ।

तार भूमिगत गर्ने यो परियोजना महँगो भए पनि पोखराका अन्य क्षेत्रहरूमा पनि यसलाई विस्तार गर्ने योजना छ। प्राधिकरणका अनुसार, पोखरा उपत्यकामा यसका लागि पाँच अर्बभन्दा बढी बजेटको आवश्यकता पर्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0