पोखरा, १५ माघ । नेपाल एक विकासशील राष्ट्रको रूपमा विभिन्न आर्थिक चुनौतीहरूको सामना गर्दैछ। विश्वका दुई ठूला अर्थतन्त्र बीच रहेको नेपालले एक बफर राष्ट्रको रूपमा आफूलाई प्रस्तुत गरेको छ। यहाँका प्रमुख आर्थिक स्रोतहरू भनेका रेमिट्यान्स, कृषि, पर्यटन र ऊर्जा क्षेत्र रहेका छन्। यी तीन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ, जसले देशलाई प्रगतिको दिशामा अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।

नेपालको कुल जनसंख्याको ठूलो हिस्सा कृषिमा संलग्न छ। ६२ प्रतिशत नेपालीको मुख्य जीविकोपार्जन कृषि क्षेत्रमा निर्भर छ, तर कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान भने अत्यन्तै कम, २४ दशमलव ०९ प्रतिशत मात्र छ। यसको प्रमुख कारण भनेको परम्परागत कृषि प्रविधि, सिँचाइको अभाव र कृषि योग्य भूमिको गैरकृषि क्षेत्रहरूमा प्रयोग हुनु हो। कृषि क्षेत्रको न्यून उत्पादकत्वका कारण सरकारले यो क्षेत्रमा विशेष ध्यान नदिएको र बजेटको मात्र ३ प्रतिशत हिस्सा कृषि तथा पशुपन्छी विकासको लागि छुट्याइएको छ। यसै कारण नेपालमा औद्योगिक उत्पादनका लागि कच्चा पदार्थको अभाव पनि छ, जसका कारण कृषि क्षेत्रमा सुधार आवश्यक छ।

नेपालको पर्यटन क्षेत्र पनि महत्त्वपूर्ण भूमिका खेल्छ। यस क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनमा ६ दशमलव ६ प्रतिशत योगदान छ। नेपाल प्राकृतिक र सांस्कृतिक दृष्टिकोणबाट संसारका प्रमुख पर्यटकीय गन्तव्यस्थलहरूमा एक हो। यहाँ ८ हजार मिटर भन्दा माथिका आठ हिमाल रहेका छन्, जसको कारण पर्वतारोहण र साहसिक यात्रा प्रचलित छन्। सन् २०२४ मा नेपालमा वार्षिक पर्यटक आवागमन करिब ११ लाख ४७ हजार ५ सय भन्दा बढी भएको छ। तर, औसत पर्यटक बसाइ केवल १३ दिनको मात्र हुन्छ र औसत खर्च ४१ डलर प्रतिपर्यटक हो। पर्यटन क्षेत्रको सम्भावनालाई राम्रोसँग उपयोग गर्न सकिएमा, नेपालको अर्थतन्त्रमा ८ खर्ब २५ अर्ब रुपैयाँ बराबरको कारोबार हुन सक्छ। यसका लागि सरकारको ध्यान पर्यटनको सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता छ। यस क्षेत्रमा रोजगारीको अवसर पनि बढाउन सकिन्छ, जसले आर्थिक स्थितिमा सुधार ल्याउन मद्दत पुर्याउँछ।

नेपालको ऊर्जा क्षेत्र पनि ठूलो सम्भावनाको क्षेत्र हो। यहाँको जलविद्युत् उत्पादनमा ठूलो सम्भावना छ र नेपालमा जलविद्युत् उत्पादन २९९१ मेगावाट पुगेको छ। नेपालमा सौर्य ऊर्जा र बायो ऊर्जा जस्ता नवीकरणीय ऊर्जाका स्रोत पनि व्यापक प्रयोग गर्न सकिन्छ। यो क्षेत्र नेपालको औद्योगिक पूर्वाधारको आवश्यक घटक हो र घरायसी उपभोगको हिसाबले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। ऊर्जा क्षेत्रमा सुधारका लागि सरकारको पहल आवश्यक छ, जसले विदेशी बजारमा निर्यात गर्नका लागि ऊर्जा उत्पादन बढाउन मद्दत पुर्याउँछ।

नेपालको व्यापार घाटा अधिक हुनुमा पेट्रोलियम पदार्थ र औद्योगिक सामानहरूको आयातमा आएको वृद्धि मुख्य कारण हो। यी वस्तुहरूका लागि नेपाल अझै विदेशमा निर्भर रहेको छ। कृषि उत्पादनमा अझै ठूलो सम्भावना रहेकाले यसलाई व्यावसायिक खेती र प्रविधिको प्रयोगद्वारा सुधार गर्न सकिन्छ। यसका लागि सरकारको नीति स्पष्ट र प्रभावकारी हुनुपर्छ। घरेलु उद्योग र साना उद्यमको प्रवर्धन गरेर रोजगारीका अवसरहरू सृजना गर्न पनि महत्त्वपूर्ण छ। यसले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ र रेमिट्यान्समा निर्भरता घटाउँछ।

नेपालको विकासको दिशा निश्चित गर्नका लागि राजनीतिक स्थायित्व र व्यवस्थित नीति निर्माण आवश्यक छ। कृषिमा आधुनिकीकरण, जलविद्युत् र सौर्य ऊर्जा उत्पादनको वृद्धि, पर्यटनको प्रवर्धन र उद्योगको विकासमार्फत नेपाल दीर्घकालीन आर्थिक प्रगति हासिल गर्न सक्छ। यी सबै क्षेत्रहरूको सही प्रवर्द्धनले नेपालको अर्थतन्त्रलाई सशक्त बनाउँछ र दीर्घकालिक समृद्धिको दिशामा मार्गदर्शन गर्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0