पोखरा, १६ माघ । पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि आठौं विरेन स्मृति तथा १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बुद्धटोल युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र पारिएको जानकारी गराएको छ।

क्लबका अध्यक्ष अशिम थापाका अनुसार प्रतियोगितामा ५० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। विजेता टिमले १ लाख ८१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ। व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ। सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्ता खेलाडीले जनही ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए।

यस वर्ष प्रतियोगितासँगै ‘एक गोल एक कपी’ अभियान पनि सुरु गरिने भएको छ। यो अभियान अन्तर्गत प्रतियोगिता अवधिभर जति गोल हुनेछ, त्यति नै बराबरको कपी पोखरा–१ भित्रका सरकारी विद्यालयहरूलाई प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले ९ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। गत संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो। साथै क्लबले भर्खरै मात्र निर्वाचित खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्ष एमबी आस्थामगर र उपाध्यक्ष राजाराम पौडेल लाई बधाई तथा सम्मान व्यक्त गरेको थियो ।






























