पोखरा, १६ माघ । पोखराको नयाँबजारमा जारी ३३ औं औद्योगिक व्यापार मेला अन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति : पर्यटन र प्रविधि’ विषयक परिसंवादमा वक्ताहरूले पर्यटन र प्रविधिको संयोजन अपरिहार्य रहेको बताएका छन्। गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (जिपास्ट)का पूर्वकार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी तथा बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेल वक्ताको रूपमा सहभागी उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रघुनाथ वाग्लेले गरेका थिए।

पर्यटन क्षेत्रलाई सूचना प्रविधिसँग कसरी जोड्ने र यसका लागि आवश्यक पहल के हुन सक्छ भन्ने विषयमा परिसंवाद केन्द्रित रह्यो। वक्ताहरूले सूचना प्रविधिको प्रभावकारी प्रयोग नगरी पर्यटन उद्योगमा दिगो विकास सम्भव नहुने धारणा राखे। पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै प्रविधिको प्रयोगलाई व्यापक बनाउन आवश्यक रहेको उपाध्यक्ष देवकोटाले उल्लेख गरे। उनले सडक निर्माणजस्ता भौतिक पूर्वाधार राज्यले विकास गर्नुपर्ने तर ब्रान्डिङ तथा पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए।

डा. ढाकाराम भण्डारीले सूचना प्रविधिको प्रयोगले केही परम्परागत रोजगारी घटाउने भए पनि आधुनिक युगमा प्रविधिको प्रयोग अनिवार्य रहेको बताए। उनले नेपालले आफ्नै प्रविधि विकास गर्ने कि विदेशी प्रविधिमा निर्भर रहने भन्नेबारे गम्भीर छलफल गर्नुपर्ने धारणा राखे। सरकारी संयन्त्रमा सूचना प्रविधिको प्रयोग अपेक्षाकृत रूपमा कमजोर रहे पनि निजी क्षेत्र प्रविधिको प्रयोगमा अग्रसर भइरहेको उनले उल्लेख गरे।

बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेलले प्रविधि पर्यटन उद्योगका लागि अपरिहार्य रहेको बताउँदै आधुनिक सूचना प्रणालीको प्रयोगबिना ठूला होटल तथा रिसोर्टहरू सञ्चालन गर्नै नसकिने बताए। उनले विदेशी पर्यटकहरू लामो समय नेपालमा बसेर अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि टेलिकम्युटिङ (दूरसञ्चारबाट काम) गर्ने प्रवृत्ति बढ्दो रहेको तर अनियमित बिजुली आपूर्ति र कमजोर इन्टरनेट सेवाले समस्या निम्त्याइरहेको बताए।

उपाध्यक्ष देवकोटाले नेपाल सूचना प्रविधिको क्षेत्रमा दशकौँ पछाडि रहेको भन्दै सरकारी तथा गैरसरकारी क्षेत्रहरूमा प्रविधिको प्रयोगलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए। उनले नेपालमा सूचना प्रविधिसम्बन्धी नीति निर्माण तथा प्रवद्र्धनमा राज्यले चासो नदिएको बताउँदै प्रविधिमैत्री नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए। उनले गुणस्तरीय शिक्षाको अभावका कारण नेपाली विद्यार्थी विदेशिन बाध्य भएको भन्दै सरकारले विश्वविद्यालयहरूको सुधारमा ध्यान दिनुपर्ने बताए।

डा. भण्डारीले सरकारी संयन्त्र प्रविधि-अनुकूल नभएको बताउँदै सरकारी तहमा प्रविधिमैत्री कर्मचारीको अभाव रहेको उल्लेख गरे। उनले अनुसन्धान तथा प्रविधि विकासका लागि राज्यले पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए। जिपास्टमा आफ्नो कार्यकालमा अनुसन्धान प्रवद्र्धन गर्ने प्रयास गरेको भए पनि प्रविधिको विकासका लागि अझै ठूलो लगानी आवश्यक रहेको उनको भनाइ थियो।

पौडेलले प्रविधिको द्रुत विकासलाई आत्मसात् गर्न पर्यटन क्षेत्र सचेत रहनुपर्ने बताए। उनले डिजिटल प्रविधिको प्रयोगले पारदर्शिता बढाउने भन्दै पर्यटन व्यवसायीहरूले प्रविधिलाई आत्मसात् गर्न ढिलाइ गर्न नहुने धारणा राखे। प्रविधिको प्रयोगबिना व्यवसाय पारदर्शी नबन्ने र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कठिन हुने उनको तर्क थियो।

परिसंवादमा सहभागी वक्ताहरूले गण्डकी प्रदेशमा प्रविधि विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने र सरकारी संयन्त्रमा प्रविधिको अधिकतम प्रयोग हुनुपर्ने निष्कर्ष निकाले। सो अवसरमा क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले धन्यवाद ज्ञापन तथा सचिव दामोदर डुम्रेले स्वागत मन्तव्य दिएका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0