पोखरा, १७ माघ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार तीन खेल हुने भएका छन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल खेलिनेछ।
महिलातर्फ पहिलो खेल बिहान ९ बजे नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबीच हुनेछ। उक्त खेलको विजेताले एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
पुरुषतर्फको दोस्रो खेल बिहान ११ बजे सुरु हुनेछ, जसमा त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लब आमनेसामने हुनेछन्। बुधबार समय अभावका कारण स्थगित भएको यो खेलले क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोली टुंगो लगाउनेछ।
तेस्रो खेल दिउँसो १ बजे गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ। यस खेलको विजेताले एलिमिनेटर खेल्ने मौका पाउनेछ। समय अभावका कारण केही खेल पछि सारिएका कारण प्रतियोगिता एक दिन लम्बिएको छ। अब यो प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ।































