पोखरा, १९ माघ । भारतको प्रयागराजमा लाग्ने ऐतिहासिक महाकुम्भ मेला यसपटक विशेष ग्रह नक्षत्रको संयोग मिलेर सुरु भएको छ । पौष शुक्ल पूर्णिमाका दिन आरम्भ भएको यस धार्मिक मेला प्रत्येक १२ वर्षमा पूर्णकुम्भका रूपमा लाग्ने भए पनि यसपटकको कुम्भलाई महाकुम्भ भनेर चिनाइएको छ । उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले यसलाई विशेष नामकरण गर्दै महाकुम्भका रूपमा घोषणा गरेका हुन् ।

गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगमस्थलमा लाग्ने कुम्भ मेलाको धार्मिक महत्व अत्यन्त गहिरो छ । हिन्दू शास्त्रहरूअनुसार समुद्र मन्थनका बेला अमृतको थोपा झरेका चार स्थानमध्ये प्रयागराजको त्रिवेणी संगम पनि एक हो । यसपटकको ग्रहस्थितिले १४४ वर्षपछि त्यस्तै संयोग बनेको विश्वास गरिएकाले यो महाकुम्भ विशेष महत्त्वको मानिएको छ ।

महाकुम्भ मेलाको पहिलो दिन नै झन्डै एक करोड श्रद्धालुले त्रिवेणीमा स्नान गरेका थिए भने दोस्रो दिन अर्थात् मकर संक्रान्तिमा साधुसन्तहरू सहित झन्डै साढे तीन करोड भक्तजनले स्नान गरेका थिए । यो मेलामा विशेष स्नानका दिनहरू तोकिएका छन्, जसमा माघ शुक्ल पूर्णिमा, महाशिवरात्रि, मौनी अमावस्या र वसन्त पञ्चमी विशेष रूपमा मानिन्छन् । मौनी अमावश्याका दिन मात्रै सात करोड श्रद्धालुले स्नान गर्ने अनुमान गरिएको छ भने मेला अवधिभर करिब ४५ करोड भक्तजनले त्रिवेणी संगममा डुबुल्की मार्ने प्रक्षेपण गरिएको छ ।

महाकुम्भ मेलाको विशेष आकर्षण भनेको साधुसन्तहरूको शाही स्नान हो, जसलाई यसपटक उत्तर प्रदेश सरकारले ‘अमृत स्नान’ नाम दिएको छ । विभिन्न १३ अखाडाका साधुसन्तहरू हर्षोल्लासका साथ नागा साधुहरूको अगुवाइमा त्रिवेणी संगम पुगेका थिए । घोडा, हात्ती र रथसहित राजसी शैलीमा प्रवेश गर्ने यी साधुसन्तहरूले आफ्नो अखाडाको ध्वजासहित स्नान गरेका थिए । नागा साधुहरू त्रिशूल, तरवार, भाला जस्ता शस्त्रसहित उग्र साधकको रूपमा प्रस्तुत भएका थिए, जसले मेलाको वातावरण झन् विशेष बनाएको थियो ।

सुरक्षा व्यवस्थापनका हिसाबले महाकुम्भ अत्यन्त चुनौतीपूर्ण मानिन्छ । एकैदिन करोडौंको संख्यामा भक्तजन उपस्थित हुने भएकाले भारतीय प्रशासनका लागि यो अभूतपूर्व व्यवस्थापकीय कार्य बनेको छ । विधर्मी आतंककारीहरूका कारण भारतको सुरक्षा सधैं जोखिममा रहने भएकाले विशेष सुरक्षा सतर्कता अपनाइएको छ । अहिलेसम्म कुनै ठूलो दुर्घटना नहुनु भारतीय प्रशासनको सफलताको संकेत मानिएको छ ।

महाकुम्भ मेलाको व्यवस्थापन हेर्दा विकसित मुलुकहरूले समेत चासोका साथ नियालेका छन् । एकै ठाउँमा करोडौं मानिसको आगमन, शान्ति सुरक्षा, स्नान व्यवस्थापन, यातायात तथा सरसफाइका चुनौतीहरूसहित मेलाको सफल सञ्चालन उदाहरणीय रहेको छ । कतिपय व्यवस्थापन विशेषज्ञहरूका अनुसार महाकुम्भ भविष्यका लागि अध्ययन गर्नुपर्ने अनुकरणीय मोडेलसमेत हुन सक्छ ।

यस महाकुम्भ मेलाले सनातनी धर्मावलम्बीहरूमा ठूलो उत्साह ल्याएको देखिन्छ । हिन्दू समुदायका लागि यो केवल धार्मिक मेला मात्र नभई आफ्नै संस्कार र परम्पराको पुनरुत्थान गर्ने अवसरसमेत बनेको छ । धार्मिक पुनर्जागरणका रूपमा समेत महाकुम्भ महत्त्वपूर्ण छ, जसले सनातनी परम्परालाई झनै सशक्त बनाएको आकलन गरिएको छ ।

नेपालबाट पनि झन्डै पाँच लाखभन्दा बढी श्रद्धालुले महाकुम्भ मेलामा सहभागिता जनाउने अनुमान गरिएको छ । नेपाल र भारत सनातनी संस्कृतिका अभिन्न अंश हुन्, जसले गर्दा हाम्रा धर्मावलम्बीहरू यस मेलामा विशेष आस्था राख्छन् । नेपालका विभिन्न धार्मिक संघसंस्थाहरू समेत संगम स्नानका लागि प्रयागराज गइरहेका छन् ।

महाकुम्भ मेला आगामी १६ फागुन अर्थात् २६ फेब्रुअरीका दिन समापन हुनेछ । त्यसबेला विशेष धार्मिक अनुष्ठान तथा पूजा विधिहरू सम्पन्न गरिनेछ । त्रिवेणी संगममा यति ठूलो संख्यामा भक्तजनको समागम हुनु धार्मिक दृष्टिले मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि अतुलनीय छ । सनातन परम्पराको उज्ज्वल भविष्य झल्काउने यस पर्वले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई गौरवान्वित बनाएको छ ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0