
पोखरा, २१ माघ । आज वसन्त पञ्चमी, अर्थात् ज्ञान र संगीतकी देवी सरस्वतीको पूजाआजा गरी वसन्त ऋतुको स्वागत गरिँदैछ। काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार परिसरको नासल चोकमा विशेष समारोह आयोजना गरिएको छ, जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगण तथा विशिष्ट व्यक्तित्वहरूले वसन्त श्रवण गर्ने परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभ साइतअनुसार बिहान ७:५५ बजे वसन्त श्रवण गरिँदैछ। हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, सांसदहरू तथा संवैधानिक निकायका प्रमुखहरू कार्यक्रममा उपस्थित रहनेछन्।
वसन्त श्रवणको अवसरमा १२औं शताब्दीका प्रसिद्ध कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्य राष्ट्र प्रमुखलाई सुनाउने परम्परा रहेको छ। यस काव्यमा वसन्त ऋतुको सौन्दर्य, नवपल्लवित वृक्ष तथा भगवान् कृष्णको लीला वर्णन गरिएको छ। यो अवसरमा विशेष रूपमा ब्याचली राग बजाइने परम्परा रहेको खनालले बताए।
यस दिनलाई सुख, शान्ति र समृद्धिको कारक मानिने भएकाले वसन्त श्रवणको परम्परा उच्च पदस्थ व्यक्तिहरूबीच मात्र सीमित रहँदै आएको छ। परापूर्वकालदेखि नै राजा-महाराजाहरूले यस दिन जनताको अवस्था बुझ्ने अवसरको रूपमा प्रयोग गर्ने गर्थे। वसन्त ऋतुको आगमनसँगै नयाँ जीवनचक्र सुरु हुने भएकाले यस दिनलाई अत्यन्त शुभ मानिन्छ।
वसन्त पञ्चमीलाई श्रीपञ्चमी पनि भनिन्छ। श्रीको अर्थ नै सुरुवात भएकाले यस दिन नयाँ कार्यको थालनी गर्न शुभ मानिन्छ। विवाह, व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि छुट्टै साइत खोज्नु नपर्ने धार्मिक मान्यता रहेको छ। श्रीकृष्णले ‘म ऋतुहरूमध्ये वसन्त हुँ’ भनी उल्लेख गरेअनुसार यो ऋतु विशेष मानिन्छ।



























