पोखरा, २१ माघ । दुई वर्षको अवधिमा जम्मा भएको करिब ६ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न नसक्दा नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। सरकारको ढिलाइका कारण इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले भुक्तानी गर्न नसकेपछि एयरटेलले सेवा बन्द गरेको बताइएको छ।
आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकहरू प्रभावित भएका छन्। इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार एयरटेलको सेवा अवरुद्ध भएपछि नेपालका प्रमुख इन्टरनेट प्रदायकहरू वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु, भायनेट लगायतका सेवामा समस्या देखिएको छ।
पराजुलीले सरकारलाई पटक–पटक आग्रह गरे पनि विदेशी मुद्रा सटहीको सिफारिस नभएकाले समस्या उत्पन्न भएको बताए। उनका अनुसार नेपालले भारतीय कम्पनी एयरटेलबाट इन्टरनेट ब्याण्डविथ खरिद गरे पनि सो रकम दुई वर्षदेखि भुक्तानी गरिएको छैन। उनले भने, “एयरटेलले बक्यौता रकम नपाएको झोंकमा नेपालमा इन्टरनेट सेवा जबरजस्ती काटेको छ।”
नेपाल सरकारको संचार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षकमा बेरुजू बक्यौता नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस रोकेको छ। तर इन्टरनेट सेवा प्रदायकहरूले उक्त शुल्क दूरसञ्चार सेवा अन्तर्गत नपर्ने भन्दै असहमति जनाएका छन्।
आइएसपानले सरकारलाई इन्टरनेट सेवा निरन्तर राख्न आवश्यक कदम चाल्न आग्रह गरेको छ। पराजुलीले नेपाल सरकारलाई विदेशी मुद्रा सटही सहज बनाउन आग्रह गर्दै भने, “७० प्रतिशत इन्टरनेट ब्यान्डविथ भारतबाट आउँछ। यदि भुक्तानी रोकिने अवस्था रहिरह्यो भने इन्टरनेट सेवा पूर्ण रूपमा बन्द हुन सक्छ।”
निजी इन्टरनेट सेवा प्रदायकहरूले सरकारबाट भुक्तानी सिफारिस नहुँदा सेवा अवरुद्ध हुन पुगेको गुनासो गरेका छन्। उनीहरूका अनुसार सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा नगर्दा सेवा प्रदान गर्न कठिन भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूको लाइसेन्स नवीकरण सहज बनाउनु पर्ने, इन्टरनेट खरिदका लागि रकम सिफारिस गर्नुपर्ने र कर प्रणालीलाई सहज बनाउनुपर्ने माग आइएसपानले गरेको छ। सरकारले समयमै पहल नगरे नेपालको डिजिटल भविष्यमा गम्भीर असर पर्ने चेतावनी पनि संघले दिएको छ।





























