पोखरा, २१ माघ। आज माघ शुक्ल पञ्चमीका दिन देशभर वसन्त पञ्चमी पर्व धुमधामका साथ मनाइँदै छ। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्दै ज्ञान, सिर्जना र संगीतकी देवीको विशेष उपासना गरिएको छ।
यसै अवसरमा बिहान ०७:५५ बजे काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार सम्पन्न भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू तथा संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। हनुमानढोका दरबार हेरचाह अड्डाले वसन्त श्रवणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिएको थियो।
वसन्त पञ्चमीलाई ‘श्रीपञ्चमी’ नामले पनि चिनिन्छ। यो दिन विशेष गरी देवी सरस्वतीको आराधना गरिन्छ। देवी सरस्वतीलाई ज्ञान, साहित्य, संगीत र सिर्जनासँग सम्बन्धित देवीका रूपमा पूजिन्छ। हातमा वीणा र पुस्तक लिएकी देवीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, वरदायिनी लगायतका नामले पुकार्छन्। विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा पत्रकारहरूले आफ्ना सिर्जनासम्बन्धी साधनहरू देवीलाई अर्पण गरी पूजा–आराधना गर्छन्।
आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा इहीजस्ता धार्मिक कार्यका लागि साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। नाक–कान छेड्न, शिक्षारम्भ गराउन तथा विद्या प्राप्तिको लागि सरस्वती पूजालाई उत्तम दिन मानिन्छ। उपत्यकाका डिल्लीबजार, गैरीधारा, स्वयम्भू, मैतीदेवी, ललितपुरको लेलेलगायत स्थानमा रहेका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ। देवीलाई चढाइएको सात गेडा अक्षता ग्रहण गर्दा विद्या, बुद्धि र चेतनाको ज्योति पाइने धार्मिक विश्वास रहिआएको छ।




























