पोखरा, २१ माघ। सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थानमा तीन घण्टाका लागि ओपीडी सेवा बहिष्कार गरेका छन्। ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’का ब्यानर र प्लेकार्डसहित बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा बन्द गरिएको हो। उनीहरूले माइतीघर मण्डलामा प्रदर्शनलाई पनि निरन्तरता दिने जनाएका छन्।
यसअघि ‘पेन डाउन’ तथा एप्रोनसहित प्रदर्शन गरेका चिकित्सकहरूले आफूहरूलाई न्यूनतम पारिश्रमिक सरकारी सरह उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन्। इन्टर्नसहित एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको पारिश्रमिक वृद्धि गरी सम्पूर्ण पीजी कार्यक्रम शुल्करहित तथा बोण्डरहित बनाउनुपर्ने उनीहरूको माग छ।
स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेपछि चिकित्सकहरू असन्तुष्ट बनेका छन्। सो रकम न्यून रहेको भन्दै उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।
संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले चार बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए। हाललाई बिरामीलाई धेरै मर्का नपरोस् भनेर ओपीडी सेवा तीन घण्टा मात्र बन्द गरिएको उल्लेख गर्दै उनले माग पूरा नभए आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिए।


























