पोखरा, २१ माघ । यसवर्षको क्यान इन्फोटेक माघ २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित हुने भएको छ। क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी यस मेलाको बारेमा जानकारी गराएको हो। क्यान इन्फोटेक २०२५ यसपटक २४ माघदेखि २८ माघसम्म हुनेछ।
क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेका अनुसार, क्यान इन्फोटेक २०२५ मा सूचना प्रविधिका नवीनतम प्रविधिहरू र सेवाहरूको प्रदर्शनी हुनेछ। यस कार्यक्रममा स्मार्ट दियोबाट उद्घाटन हुने व्यवस्था गरिएको छ। यस वर्षको प्रदर्शनीमा १५० स्टल रहनेछन्, जसमा ९० प्रतिशत अर्थात् १२० स्टल बुकिङ भइसकेको जानकारी दिइएको छ।
मेलामा प्रमुख प्रायोजकका रूपमा एचएमसी नेपाल हिक्सेमी रहेका छन् भने सह-शीर्ष प्रायोजक मर्कन्टाइल अफिस सिस्टम छन्। यसका साथै, गोल्ड स्पोन्सरको रूपमा नेबुला मोबिलिटी प्रा.लि. (गोगोरो) र सिल्भर स्पोन्सरको रूपमा एस-पावर बीपीई प्रा.लि. र अनलिमिटेड टेक्नोलोजी प्रा.लि. (ज्याप) रहेको छ।
यस वर्षको क्यान इन्फोटेकमा विभिन्न नयाँ प्रविधिहरू प्रदर्शनीमा राखिने छन्। विशेष गरी, अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सजस्ता विषयहरूमा आधारित शिक्षण उपकरणहरूको प्रदर्शन गरिने छ। विद्यार्थीहरूलाई नयाँ प्रविधिका विषयहरू व्यवहारिक रूपमा सिकाउने उद्देश्यले LEGO Education Kit र DataBot Personal Assistant AI प्रदर्शनीमा राखिने छन्।
मेलामा टिकटिङ पार्टनरका रूपमा टिकट सञ्जाल रहेको छ र क्यान इन्फोटेकका टिकट अनलाइनमार्फत उपलब्ध हुनेछ। सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ भने विशेष अवसरका लागि नि:शुल्क प्रवेश व्यवस्था गरिएको छ।
मेलाको सफलताका लागि देशभरका विभिन्न सरकारी र निजी संस्था र संगठनहरूले सहयोग गरेका छन्। यस मेलामा करिब साढे ३ लाखको सहभागिता हुने अपेक्षा गरिएको छ।































