पोखरा, २१ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताएका छन्। आज बिहान खुमलटारस्थित आफ्नो निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले समाजवाद निर्माणको अभियानलाई तीव्रता दिँदै अघि बढ्ने बताएका हुन्।
पार्टी प्रवेश गरेका सदस्यहरूलाई उचित जिम्मेवारी दिइने उल्लेख गर्दै उनले पार्टीलाई थप सशक्त बनाउन सबैलाई एकताबद्ध र ध्रुविकृत हुन आग्रह गरे। विचार मिल्ने विभिन्न धारहरूबीच एकताको पहल भइरहेको जानकारी दिँदै उनले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब सिर्जना गर्ने बताए।
आजको कार्यक्रममा आम जनता पार्टी (आजपा)का केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक, स्थायी समिति सदस्य तथा पर्सा इञ्चार्ज कदम रसुल, व्यापार महासंघका पूर्व केन्द्रीय सदस्य वीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघ्न गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजीव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्यहरू आकाश पटेल, नारायण देवान, नगर सदस्यहरू सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल र चुनु महतोलगायतको टोली माओवादी केन्द्रमा प्रवेश गरेको छ।
पछिल्लो समय विभिन्न दलका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम तीव्र बनेको छ। अध्यक्ष प्रचण्डले पार्टी विस्तारलाई तीव्रता दिँदै पार्टी संगठनलाई सुदृढ बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।





























