पोखरा, २३ माघ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ०४६ सालपछि कांग्रेसको राजनीतिक मार्ग गलत दिशामा गएको बताएका छन्। पोखरामा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा प्रस्तुत गरेको कार्यपत्रमार्फत उनले पार्टीभित्र आदर्श, निष्ठा, समर्पण र सेवा भाव कमजोर हुँदै गएको उल्लेख गरे।
उनका अनुसार २०४६ सालसम्म कांग्रेसले त्याग, समर्पण र आदर्शलाई राजनीतिक यात्राको मूल आधार बनाएको थियो। तर, २०५१ सालपछि राजनीति पेशा र व्यवसायमा परिणत भएको उनको कार्यपत्रमा उल्लेख छ। अहिलेको परिस्थितिमा राजनीतिक मूल्यमान्यता कमजोर बन्दै गएको र सेवाभाव हराउँदै गएको उनको भनाइ छ।
नेपाली कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले ७७ वटै जिल्लाका सभापति तथा जिल्ला प्रशिक्षण शाखा प्रमुखहरू (उपसभापति) का लागि संगठनात्मक विकास र समसामयिक सन्दर्भमा दुईदिने अभिमुखीकरण आयोजना गरेको छ। कार्यक्रममा डा. पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
उनले पार्टीको सैद्धान्तिक धरातल मजबुत बनाउन र राजनीतिलाई सेवा भावमै समर्पित गराउन जोड दिएका छन्। उनका अनुसार कांग्रेस नेतृत्वले आदर्श र निष्ठामा आधारित राजनीति कायम राख्न सके मात्र पार्टी सशक्त रूपमा अगाडि बढ्न सक्छ।
यसअघि सोमबार कांग्रेसले सातवटै प्रदेशका सभापतिहरूलाई पनि अभिमुखीकरण तालिम दिएको थियो।





























