पोखरा, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारमा मन्त्रालयको ब्रिफिङ लिँदै उनले रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यलाई तीव्रता दिन आग्रह गरे। पदबहालीका क्रममा ३०० दिनभित्र स्तरोन्नति गर्ने निर्णय लिएको कुरा स्मरण गराउँदै, उनले प्यारापिट र फ्लडलाइट निर्माणका लागि मूल्याङ्कन प्रक्रियामा रहेको बोलपत्र छिटो टुंग्याई आगामी चरणको कार्य पनि तत्काल अघि बढाउन निर्देशन दिए।

बैठकमा प्रधानमन्त्री ओलीले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै, पूर्वाधार निर्माणमा हुने ढिलाइले मुलुकको उत्पादन र उत्पादकत्वमा असर गर्ने भएकाले तीव्रगतिमा कार्य सम्पन्न गर्न निर्देशन दिए। यस अवसरमा सङ्घीय संसद भवन, धरहरा, मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्प्लेक्स, नेपाली सेनाको चण्डी दल र थापाथलीस्थित नेपाल राष्ट्र बैंक भवनलगायतका योजनाबारे पनि छलफल भएको छ।




























