पोखरा, २७ माघ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन ३ गते शनिबार पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना गरिने भएको छ। यस समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नेछन्। पर्यटन राजधानी पोखरामा २० लाख स्वदेशी र विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको पोखरा महानगरले जनाएको छ।

समारोहको तयारीका लागि नगर प्रमुख धनराज आचार्यको नेतृत्वमा १,०५० सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। यस समितिमा पोखरा महानगरका विभिन्न सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरू, सुरक्षा निकाय, उद्योगी व्यवसायी, राजनीतिक दलका सदस्यहरू र नागरिक समाजका प्रतिनिधिहरू समावेश छन्। साथै, विदेशमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले सद्भावना दूतहरूको घोषणा पनि गरिने तयारी गरिएको छ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा पोखरा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभूषामा बृहद झाँकी र्याली निकालिने छ। यो भ्रमण वर्षको आयोजनाले पोखराको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।





























