पोखरा, २८ माघ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ कसुर सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। सो विधेयक बैङ्किङ प्रणालीमा हुने चेक अनादर लगायतका कसुरजन्य गतिविधिलाई नियमन, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउन ल्याइएको पौडेलले स्पष्ट पारे।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गरेका थिए। छलफलका क्रममा सांसद विमला सुवेदी, सन्तोष परियार र ध्रुवबहादुर प्रधानले विधेयकको आवश्यकताबारे आ–आफ्नो धारणा राखे। जवाफमा मन्त्री चौरसियाले नागरिक अधिकारलाई थप सशक्त बनाउन तथा कानुनी प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित विधेयक अघि बढाइएको बताए।
बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्रीहरू पौडेल र चौरसियाले विधेयकहरूले कानुनी व्यवस्था सुधार्ने, वित्तीय अनुशासन कडा बनाउने र नागरिकका हक अधिकारलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
सभामुख देवराज घिमिरेले छलफलपछि विधेयकमा आवश्यक संशोधन समावेश गर्ने गरी सरकारका तर्फबाट प्रस्ताव गरिएको परिवर्तनलाई पारित भएको घोषणा गरे। प्रतिनिधिसभाको अर्को बैठक माघ २८ गते सोमबार अपराह्न १ बजे बस्नेछ।





























