पोखरा, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई तोकिएको समयभित्र बन्दी नछोडे युद्धविराम भङ्ग गर्ने चेतावनी दिएका छन्। उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मको समयसीमा निर्धारण गरेका छन्।
ट्रम्पले हमासले तोकिएको समयभित्र सबै बन्दीहरूलाई रिहा गर्नुपर्ने बताएका छन्। तर उनले दिउँसो १२ बजेसम्म वा मध्यरात १२ बजेसम्म भन्ने विषय खुलाएका छैनन्। यदि उक्त समयसीमाभित्र बन्दी रिहा नगरिए गम्भीर परिणाम हुन सक्ने उनले चेतावनी दिएका छन्।
दोस्रो पक्षबाट पनि तनाव बढ्ने संकेत देखिएको छ। हमासका प्रवक्ता अबु देबाइले गाजामा विस्थापित भएका नागरिकहरूलाई फर्कन अवरोध गरिएको, आतङ्क फैलाइएको र आक्रमण भइरहेको आरोप लगाउँदै बन्दी रिहाइ प्रक्रिया रोक्ने चेतावनी दिएका थिए। हमासले यो अवस्थालाई युद्धविराम उलंघनको संज्ञा दिँदै प्रतिरोध गर्ने संकेत गरेको छ।
ट्रम्पको चेतावनीपछि क्षेत्रीय परिस्थितिलाई लिएर अन्तर्राष्ट्रिय समुदाय सतर्क बनेको छ। यदि हमासले तोकिएको समयभित्र बन्दी रिहा गरेन भने युद्धविराम भङ्ग हुने र नयाँ द्वन्द्व चर्किन सक्ने विश्लेषकहरूले बताएका छन्।




























