पोखरा, २९ माघ । कतार सरकारले गैरकानुनी रूपमा बसेका तथा कागजातविहीन आप्रवासी श्रमिकलाई आममाफी दिएको छ। कतारको आन्तरिक मन्त्रालयले सन् २०२५ को कानुन नम्बर २१ अन्तर्गत प्रवेश, निकास र निवाससम्बन्धी कानुन उल्लंघन गर्नेहरूलाई आगामी तीन महिनाभित्र जरिवाना तिर्नु नपर्ने गरी स्वदेश फर्किन दिने निर्णय गरेको छ।
यो आममाफी ९ फेब्रुअरीदेखि लागू भइसकेको छ। यसअन्तर्गत कतारमा बसोबास अनुमति नभएका, अवैध रूपमा बसिरहेका तथा प्रवेश भिसाको समयसीमा नाघेका श्रमिकले निर्धारण गरिएको समयसीमाभित्र स्वदेश फर्किनुपर्नेछ। उनीहरूले कुनै कानुनी कारबाही वा जरिवानाको सामना गर्नुपर्ने छैन।
कतारमा रहेका नेपाली श्रमिकलाई पनि यो निर्णय लाभदायक हुनेछ। गैरकानुनी रूपमा बसेका नेपालीले अब सहज रूपमा स्वदेश फर्कन सक्नेछन्। दोहास्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट बनाउने प्रक्रियामा सहजीकरण गर्ने जनाएको छ।
कतार सरकारले यो सुविधा ९ फेब्रुअरीदेखि ९ मेसम्म लागू गर्ने जनाएको छ। स्वदेश फर्कन चाहनेहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सलवा रोडस्थित खोज तथा अनुगमन विभागमा तोकिएको समयसीमाभित्र सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
कतारमा हाल ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत रहेका छन्। तीमध्ये ११ हजार ९० जना महिला छन्। तर, कति नेपाली गैरकानुनी रूपमा बसेका छन् भन्नेबारे आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन।



























