पोखरा, ३० माघ । चलचित्र ‘लाज शरणम्’को प्रचारात्मक गीत ‘नेपाल हाँसेको’ युट्युबमा सार्वजनिक भएसँगै नयाँ रेकर्ड बनाएको छ। यो गीत युट्युब ट्रेन्डिङमा सबैभन्दा छिटो पहिलो स्थानमा पुग्ने नेपाली गीत बनेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको शब्द, संगीत, स्वर र र्‍याप रहेको गीत रिलिज भएको केही घण्टामै युट्युबको ट्रेन्डिङ सूचीमा देखिएको थियो। २४ घण्टा नपुग्दै युट्युब म्युजिक सेक्सनमा नम्बर एकमा पुग्दै यसले ऐतिहासिक उपलब्धि हासिल गरेको हो। नेपाल मात्रै होइन, अस्ट्रेलिया, युएई, कतार, माल्टा र कुवेतसहित पाँच देशमा यो गीत युट्युब ट्रेन्डिङमा रहेको छ।

गीतमा बालेनसँगै सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतका कलाकारको कोरस स्वर छ। गीतले विकसित नेपालप्रतिको परिकल्पना प्रस्तुत गर्दै देशको वर्तमान यथार्थ चित्रण गरेको छ। बालेन मेयर बनेपछि सार्वजनिक भएको यो पहिलो गीत हो, जसले दर्शकमाझ विशेष चर्चा पाइरहेको छ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। यो चलचित्रको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ रहेका छन्। अर्जुन घिमिरे ‘पाण्डे’, सागर लम्साल ‘बले’, हरिष निरौला ‘कक्रोच’, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ र माला लिम्बूको अभिनय रहेको छ।

चलचित्रको निर्देशन कुमार कट्टेलले गरेका छन्। निर्माण कम्पनी जेपिटी क्रियसनका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा रहेका छन्।

महाशिवरात्रि (फागुन १४) मा प्रदर्शन हुने यो चलचित्रलाई दर्शकहरूले अत्यधिक प्रतिक्षा गरिरहेका छन्। बालेनको गीतको लोकप्रियताले चलचित्रको थप उत्सुकता बढाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0