पोखरा, २ फागुन। वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पहाड’ को मंगलबार गोर्खा दरबारमा शुभ मुहूर्त गर्दै छायांकन सुरू गरिएको छ। समाजमा बढ्दो युवा विदेश पलायनका कारण उच्च पहाडी भेगमा देखिएको खालीपन र त्यसले निम्त्याउने सामाजिक-आर्थिक समस्यालाई मुख्य कथावस्तु बनाइएको फिल्मले समाजलाई गहिरो सन्देश दिने निर्माण पक्षको विश्वास छ।

फिल्मका प्रमुख कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सट दिएका थिए। निर्देशक घिमिरेका अनुसार फिल्मले मानव बसोबासविहीन बन्दै गएको पहाडको वास्तविकता उजागर गर्नेछ। समाजको तीतो यथार्थ प्रस्तुत गर्दै मुलुकप्रतिको दायित्वबोध गराउनु फिल्मको मुख्य उद्देश्य रहेको उनले बताए।

ओजस्वी केसी निर्माता रहेको फिल्मको छायांकन प्रमोद प्रधानले गरिरहेका छन्। भारतमा फिल्म, वेब सिरिज तथा टेलिफिल्म छायांकन गरिसकेका प्रधानले ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ जस्ता हिट फिल्ममा घिमिरेसँग सहकार्य गरिसकेका थिए। झण्डै ३० वर्षपछि नेपाली फिल्म छायांकन गरिरहेका प्रधानले ‘पहाड’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।

‘पहाड’ भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको छ। फिल्ममा विपिन कार्की, सुनिल थापा लगायतका कलाकारको अभिनय रहनेछ भने रञ्जित गजमेर संगीत निर्देशकका रूपमा छन्। भारती घिमिरे क्रिएटिभ निर्देशक रहेको फिल्मका सह-निर्मातामा रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ रहेका छन्। फिल्मको छायांकन गोर्खा आसपासका क्षेत्रमा २५ दिन र भारतमा १५ दिन गरिने जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0