पोखरा, २ फागुन। अभिनेता सलोन बस्नेत निर्मित फिल्म ‘रंगीले’ को प्रिमियर शो बुधबार राजधानीमा सम्पन्न भएको छ। बाबुछोरीको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मलाई उपस्थित दर्शक र कलाकारहरूले राम्रो प्रतिक्रिया दिएका छन्।

प्रिमियर शोमा निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता, निर्माता तथा निर्देशक निर्मल शर्मा, कोरियोग्राफर गम्भीर विष्ट लगायतका फिल्मकर्मी उपस्थित थिए। फिल्मको कथावस्तु, कलाकारहरूको अभिनय र प्राविधिक पक्षको प्रशंसा गर्दै उनीहरूले ‘रंगीले’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। बाबुछोरीको सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको भन्दै समीक्षात्मक रूपमा समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको यो फिल्म सुरेश न्यौपानेको डेब्यू निर्देशन हो। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माताका रूपमा रहेका छन्। फिल्ममा सलोन बस्नेतसँगै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायत कलाकारहरूको अभिनय छ।

भावनात्मक कथा र आकर्षक प्रस्तुतिका कारण फिल्मप्रति दर्शकको रुचि बढेको देखिन्छ। प्रिमियर शोमा देखिएको सकारात्मक ऊर्जा र तारिफलाई हेर्दा ‘रंगीले’ ले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0