पोखरा, ४ फागुन । सुदूरपश्चिम प्रदेशका चार संसदीय समितिमा सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शनिबार उम्मेदवारी दर्ताको अन्तिम मितिसम्म प्रत्येक समितिमा एक/एक जना मात्र उम्मेदवार देखिएपछि उनीहरू निर्विरोध भएका हुन् । आधिकारिक घोषणा भने आइतबार गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नयाँ गठन गरिएको विशेषाधिकार समितिका सभापतिहरू निर्विरोध चयन भएका हुन् । एमालेका धर्मराज पाठक सामाजिक विकास समितिमा, माओवादीका अक्कल रावल सार्वजनिक लेखा समितिमा, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा र कांग्रेसकी तुलसी देवकोटा विशेषाधिकार समितिमा सभापति बन्ने पक्का भएको छ ।
गत पुस ११ गते सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच संसदीय समितिहरूको नेतृत्व भागबन्डा गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समिति तथा कांग्रेसले विशेषाधिकार समिति पाउने सहमति भएको थियो ।
यसअघि सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा निर्वाचनमार्फत सभापति चयन भइसकेका थिए । तर, विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापति मन्त्री नियुक्त भएपछि ती समितिहरू ज्येष्ठ सदस्यको भरमा सञ्चालन भइरहेका थिए । आइतबार बिहान १० देखि ११ बजेसम्म सभापतिहरूको उम्मेदवारीविरुद्ध दाबी विरोध पेस गर्ने समय तोकिएको छ । त्यसपछि १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिहरूको औपचारिक घोषणा गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।




























