पोखरा, ४ फागुन। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विषयमा प्रतिक्रिया जनाउँदै भनेका छन् कि यस विधेयकबाट वास्तविक पत्रकार साथीहरुलाई कुनै पनि डरको अवस्था नआउनेछ। जिरी भ्रमण वर्ष-२०२५ को उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालमा देखिएका विकृतिहरूको अन्त्य गर्नका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गरे। उनले यस विधेयकले क्रियाशिल पत्रकारहरूलाई कुनै प्रकारको समस्या नहुने विश्वास व्यक्त गरे।
मन्त्री गुरुङले भने, “सामाजिक सञ्जाल सम्बन्धी विधेयकको बारेमा धेरै सुझाबहरू प्राप्त भएका छन्, त्यसका आधारमा विधेयकमा परिवर्तन गरी पारित गरिनेछ।” उनका अनुसार विधेयकलाई जस्ताको तस्तै पास गर्ने छैन, त्यसको परिर्माजन गरेर मात्रै पास गरिनेछ। सामाजिक सञ्जालहरूमा हुने विकृतिहरूलाई रोक्नका लागि विधेयक आवश्यक भएको उनका भनाइ छ।
साथै, मन्त्री गुरुङले मुलुकको आर्थिक विकासका लागि उद्योग, व्यापार र कल–कारखाना निजी क्षेत्रले सञ्चालन गर्नुपर्ने धारणा राखे। सरकार भने नीतिगत सहयोग प्रदान गर्नेछ। उनले जिरीको ताल निर्माणलाई क्षेत्रीय विकासका लागि महत्वपूर्ण रहेको र राजनीतिक पूर्वाग्रह त्यागेर सबै दलले ताल निर्माणको अभियानमा एकमत हुनु पर्ने जोड दिए।
उक्त उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य र पूर्व सञ्चार मन्त्री पार्वत गुरुङले विकास निर्माणमा राजनीति नगर्नुपर्ने बताउँदै साँझा सहमति र सहकार्यमा जोड दिए।
त्यसैगरी, संविधान संशोधनका विषयमा कुरा गर्दै मन्त्री गुरुङले नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति भएको र सबै दलको सहमतिमा संविधान संशोधन गरिने जानकारी दिए।


























