पोखरा, ५ फागुन। खोटाङको हलेसी बजारमा रहेको ग्यास पसल भएको घरमा भीषण आगलागी भएको छ। स्थानीय पदम राईको ग्यास पसल रहेको सो घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट अचानक आगो सल्किएको जनाइएको छ।
स्थानीय सयन्द्र राईका अनुसार आगलागी नियन्त्रण बाहिर जाँदा बजारका अन्य घरहरूमा पनि फैलिने खतरा बढेको छ। स्थानीयवासी र सुरक्षाकर्मी आगो निभाउने प्रयासमा जुटेका छन्। तर, पानीको अभावका कारण नियन्त्रण गर्न कठिनाइ भइरहेको बताइएको छ।
उक्त घरमा हार्डवेयर पसलसमेत रहेको हुँदा क्षतिको परिमाण अझ बढ्न सक्ने आशंका गरिएको छ। आगलागीका कारण लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भइसकेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईका अनुसार आगो नियन्त्रणका लागि थप उद्धार टोली परिचालन गरिएको छ। क्षतिको यकिन विवरण भने आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्र थाहा हुने जनाइएको छ।































