पोखरा, ५ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिएका छन्। आइतबार प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूको सहभागितामा ९ वटा अस्पतालको अनुगमन गरिएको छ।

मुख्यमन्त्रीको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रा.लि., नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल र एडभान्स सिटी स्क्यानमा अनुगमन गरेको हो।

अनुगमनपछि जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटललाई बन्द गरिएको छ। कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरलाई फोहोर व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ।

ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रा.लि. दर्ता नभएकाले कागजातसहित सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ। त्यस्तै, नवजीवन हस्पिटल र वैदेही हस्पिटलले वर्षौंदेखि नवीकरण नगरेकाले सञ्चालकलाई कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण नगरेकाले थप कारबाही गरिने भएको छ। बन्द गरिएका अस्पतालमा उपचार भइरहेको आशंका गरिएपछि जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई सिसिटिभी फुटेजसहित उपस्थित हुन भनिएको स्वास्थ्य मन्त्रालयका अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0