पोखरा, ६ फागुन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्देशन अवज्ञा गर्दै आफूखुसी अघि बढ्न खोजेको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खड्काले प्राधिकरणको सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरी घिसिङले मनपरी गरेको दाबी गरे।

मन्त्री खड्काले कुलमानलाई सरकारको नीतिअनुसार चल्न निर्देशन दिइएको भए पनि उनले त्यसलाई बेवास्ता गर्दै अराजक गतिविधि बढाएको बताए। उनले सरकार कुनै व्यक्तिविशेषका पक्षमा उभिन नहुने भन्दै विधि र प्रक्रियाअनुसार मात्रै निर्णय लिइने उल्लेख गरे। घिसिङले सञ्चालक समितिका बैठकहरूमा समेत अनुपस्थित हुने गरेको र त्यसकै कारण सदस्य परिवर्तन गर्नुपरेको उनले स्पष्ट पारे।

कुलमानकै कारण लोडसेडिङ हटेको भनेर फैलाइएको धारणा भ्रमपूर्ण रहेको भन्दै खड्काले त्यसबेला भारतबाट ४२५ मेगावाट विद्युत् आयात गरिएकै कारण समस्या समाधान भएको दाबी गरे। उनले बाढीका कारण १३ अर्ब रुपैयाँ बराबरको क्षति भए पनि विद्युत् आपूर्तिलाई व्यवस्थित बनाउन सरकारले तत्काल आवश्यक कदम चालेको बताए।

ऊर्जा क्षेत्रमा भारतसँग सहकार्यलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री खड्काले दोधारा-लम्की, बरेली-ढल्केबर लगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माणको सम्झौता भइसकेको जानकारी दिए। आवश्यक कानुन तर्जुमा भइरहेका विधेयकहरू प्रक्रियामा रहेको पनि उनले जनाए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0