पोखरा, ६ फागुन। नेकपा एकीकृत समाजवादीले ८–९ फागुनका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा दशौं महाधिवेशनको समीक्षा प्रमुख एजेन्डा बन्ने भएको छ। महाधिवेशन सम्पन्न भएको आठ महिनापछि पार्टीले यसबारे समीक्षा गर्न लागेको हो। सोमबार बसेको स्थायी कमिटी बैठकमा छलफलपछि यसलाई पोलिटब्यूरोबाट अनुमोदन गरी केन्द्रीय कमिटीमा पेस गरिने तय भएको छ।
पार्टीभित्र देखिएको संगठनात्मक अलमल, गुटगत प्रतिस्पर्धा र निर्णय प्रक्रियामा भएको ढिलाइले गर्दा महाधिवेशन समीक्षा अहिले मात्र हुन लागेको देखिन्छ। प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, महासचिव घनश्याम भूसालको ‘आन्दोलनबाट पार्टी निर्माणको कार्यदिशा’ लगायतका विषयमा पनि छलफल हुनेछ।
महाधिवेशन सम्पन्न भएदेखि नै पार्टीभित्र अन्तरसंघर्ष चर्किएको देखिन्छ। पार्टी नेतृत्व र संगठनात्मक संरचनाको विवादका कारण विभागीय जिम्मेवारी बाँडफाँट गर्न समेत लामो समय लागेको थियो। अध्यक्ष नेपालले १४ माघमा अपानि जारी गरी नेताहरूको जिम्मेवारी निर्धारण गरेका थिए। तर यही अपानिले प्रमुख जनसंगठनहरू— युवा संघ नेपाल र अनेरास्ववियूमा विवाद निम्त्याएको छ। अपानिबाट युवा संघ नेपालका अध्यक्ष कृष्ण विश्वकर्मा र अनेरास्ववियू अध्यक्ष आरती लामा हटाइएपछि यी संगठनहरूमा असन्तोष चुलिएको छ।
५ फागुनमा अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा गर्ने तयारी भए पनि वरिष्ठ नेता झलनाथ खनालको हस्तक्षेपपछि त्यो रोकिएको थियो। खनालले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने बताएका छन्। यसैगरी, युवा संघ नेपालमा समेत असन्तुष्टि रहँदै आएको छ।
महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिए पनि त्यसपछिका निर्णय प्रक्रियामा अध्यक्ष नेपाल र महासचिव भूसालबीच शक्ति संघर्ष देखिएको छ। पोलिटब्यूरो गठनदेखि पदाधिकारी चयनसम्मको ढिलाइ र विवादले पार्टीलाई प्रभाव पारेको छ। पदाधिकारी चयनका क्रममा भएको मतदानले गुटगत प्रतिस्पर्धा अझै बढाएको छ।
राष्ट्रिय राजनीति प्रष्ट पार्ने मामिलामा पनि पार्टीभित्र एकमत देखिँदैन। अध्यक्ष नेपाल माओवादी केन्द्रसहितको समाजवादी मोर्चाप्रति झुकाव राख्दै आए पनि महासचिव भूसाल आफ्नै शक्ति निर्माणको पक्षमा छन्। भूसालले ‘आन्दोलनबाट पार्टी निर्माण’ को कार्यदिशा अघि सार्दै समाजवादी मोर्चालाई विकल्पका रूपमा नमान्नुपर्ने धारणा राख्दै आएका छन्।
पार्टीभित्र देखिएको यी विविध अन्तरसंघर्षकै कारण संगठनात्मक सुदृढीकरण र आगामी रणनीति निर्माणमा ढिलाइ भएको छ। यही सन्दर्भमा, केन्द्रीय कमिटी बैठक पार्टीको आगामी मार्गचित्र तय गर्ने महत्वपूर्ण अवसर बन्न सक्नेछ।





























