पोखरा, ६ फागुन। छिमेकी मुलुक भारतमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारले गम्भीर रूप लिएको छ। कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत २० वर्षीया प्रकृति लम्सालको निधन भएपछि न्यायको माग गर्दै विद्यार्थीले गरेको शान्तिपूर्ण प्रदर्शनलाई कलेज प्रशासनले दमन गरेको छ।
प्रकृतिले दुई पटक आफूलाई सहपाठी अड्वीक श्रीवास्तवले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन्। तर, प्रशासनले गम्भीरता नदेखाउँदा अन्ततः उनको ज्यान गएको विद्यार्थीको आरोप छ। यो घटनापछि नेपाली विद्यार्थीले न्यायको माग गरेका थिए। तर, कलेज प्रशासनले उनीहरूलाई जबरजस्ती होस्टलबाट निकालेको छ।
नेपाली विद्यार्थीमाथि स्थानीय गुण्डा शैलीमा आक्रमण भएको विवरण आएको छ। सोमबार बिहान विद्यार्थीहरू होस्टलमा रहेका बेला बाउन्सरहरू कोठामा प्रवेश गरी ‘नेपाली हो?’ भनेर सोध्थे र जवाफ पाउने बित्तिकै जबरजस्ती बाहिर निकाल्थे। विद्यार्थीहरूले आफ्नो व्यक्तिगत सामान प्याक गर्ने समयसमेत नपाएको बताएका छन्। मोबाइल खोस्ने, शारीरिक यातना दिने, विरोध गरेका विद्यार्थीमाथि आक्रमण गर्ने जस्ता गतिविधि भएका छन्। कतिपय विद्यार्थीहरू घाइते भएका छन् भने केहीको रगत बगेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
घटनापछि भारतीय सञ्चारमाध्यमहरू, नेपाल सरकार र दिल्लीस्थित नेपाली दूतावासले चासो देखाएका छन्। दूतावासले विद्यार्थीहरूसँग प्रत्यक्ष छलफल गरेको छ भने ओडिसा प्रदेश सरकारले घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। नेपाली विद्यार्थीहरूले दोषीमाथि कारबाही, सुरक्षा सुनिश्चितता, सीसीटीभी फुटेज सार्वजनिक गर्ने, दुर्व्यवहारमा संलग्नलाई सजाय दिने लगायतका माग राखेका छन्।
हाल कलेज प्रशासनले होस्टल नछाड्न आग्रह गर्दै नयाँ सूचना जारी गरेको छ। तर, विद्यार्थीहरूले निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म आफूहरूको डर कायमै रहने बताएका छन्।




























