पोखरा, ६ फागुन। गाजामा युद्धविरामपछि इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली श्रमिकलाई पुनः रोजगारीको अवसर प्रदान गर्न थालेको छ। यही प्रक्रिया अन्तर्गत पहिलो चरणमा छनोट भएका ९१९ श्रमिकमध्ये १३ जना नेपाली केयरगिभर मंगलबार इजरायल प्रस्थान गरेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार १३ जना मध्ये २ पुरुष र ११ महिला छन्। नेपालस्थित इजरायली दूतावासका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने पहिलो समूहलाई नेपालका लागि इजरायली राजदूत खनान गोदेर तथा श्रम मन्त्रालयका प्रतिनिधिहरूले बिदाइ गरेका थिए।
इजरायलका लागि छानिएका ३४६१ जनामध्ये लक्की ड्रको माध्यमबाट २११२ जनालाई छनोट गरिएको थियो। तीमध्ये पहिलो चरणमा ९१९ जनालाई पठाउने निर्णय भएको छ। हालसम्म ८२ जनाको भिसा लागिसकेको र अन्यको प्रक्रिया अघि बढिरहेको विभागका निर्देशक गिरिराज ज्ञवालीले बताए।
केयरगिभरका रूपमा काम गर्ने नेपाली श्रमिकले मासिक ५८८० इजरायली मुद्रा (करिब २ लाख २० हजार रुपैयाँ) पारिश्रमिक प्राप्त गर्नेछन्। करार अवधि सुरुमा एक वर्षको रहनेछ, जुन अधिकतम पाँच वर्ष तीन महिनासम्म लम्बिन सक्ने सम्झौतामा उल्लेख छ।


























