पोखरा, ८ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्ध पोखरामा विरोध सभा गर्ने भएको छ। आगामी फागुन ९ गते शुक्रबार पोखराको चिप्लेढुंगामा हुने उक्त सभामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी हुनेछन्।

राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङका अनुसार नवीन राजनीतिक समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको हो। बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनले सरकारको लापरबाही, भ्रष्टाचार, अयोग्य प्रशासनिक व्यवस्थापन र आर्थिक अपारदर्शिताविरुद्ध पार्टी सडक आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत गण्डकी प्रदेशभित्र भएका भ्रष्टाचार प्रकरणहरूको भण्डाफोर गर्ने तयारी रहेको जानकारी दिए।

उनका अनुसार सरकारले नागरिकका आवाजलाई बेवास्ता गरेकाले दबाबमूलक कार्यक्रम गर्नुपरेको हो। ‘हामीले ४२ बुँदे ज्ञापनपत्र बुझाएका थियौं। प्रधानमन्त्रीदेखि स्थानीय तहसम्म ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ भएन,’ उनले भने, ‘सरकार ढुंगामुढा र टायर बाल्नेसँग मात्र डराउँछ कि भन्ने सोच आउन थालेको छ।’ उनले राप्रपाले भने हिंसात्मक राजनीति नगर्ने स्पष्ट पार्दै आन्दोलन शान्तिपूर्ण हुने जनाए।

No description available.

विरोध सभा पृथ्वीचोकबाट ¥याली गर्दै चिप्लेढुंगामा पुगेर गरिनेछ। राप्रपाले संवैधानिक राजसंस्था पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, संघीयता खारेजी, सनातन हिन्दू अधिराज्य स्थापनालगायतका विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। पार्टीले सांसदहरूलाई मन्त्री बन्न नदिने र विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्ने अवधारणालाई पनि अघि सारेको छ।

राप्रपा केन्द्रीय सदस्य अर्जुन खनालका अनुसार देशको असहज परिस्थितिलाई मध्यनजर गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरिनेछन्। उनले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको र वर्तमान व्यवस्था असफल भइसकेको दाबी गरे। ‘हामीले अवस्था बदल्न व्यवस्थालाई बदल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं। आन्दोलन आवश्यक छ, यसको स्वरूप समय अनुसार तय हुनेछ,’ उनले भने।

No description available.

गण्डकी प्रदेशकी राप्रपा सांसद बिन्दु अधिकारी पौडेलले पार्टीले सत्ता स्वार्थभन्दा माथि उठेर मुलुकको स्थायित्वका लागि संघर्ष गरिरहेको बताइन्। ‘हामीले दिगो सरकारका लागि समर्थन दियौं, तर रोजी–रोजी मन्त्री दिँदा पनि हामी मन्त्री बनेनौं। राप्रपाले मुलुकका लागि सोचेको छ, पदका लागि होइन,’ उनले भनिन्।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामै रहेको समयमा राप्रपाले विरोध सभा गर्न लागेको भन्दै यो घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीका नेताहरूले सरकार असफल भएको निष्कर्ष निकाल्दै अब ठूला आन्दोलनका कार्यक्रम ल्याउने संकेत दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0