पोखरा, ८ फागुन। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देहीमा अन्त्येष्टि गरिएको छ।

प्रकृतिको शव बुधबार राति १२ बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंकरोड कोलोनी ल्याइएको थियो। त्यसपछि बिहान चार बजे स्वर्गद्वारी घाटमा अन्त्येष्टि सम्पन्न गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए।

बी-टेक अध्ययनरत प्रकृति गत आइतबार होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। भारतीय विद्यार्थी अड्विक श्रीवास्तवबाट मानसिक यातना पाइरहेकी उनले कलेज प्रशासनसँग दुईपटक उजुरी दिए पनि सुनुवाइ नभएको आफन्तहरूले आरोप लगाएका छन्।

प्रकृतिको मृत्युपछि भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि कुटपिट गर्दै होस्टेल छोड्न निर्देशन दिएपछि ठूलो सङ्ख्यामा विद्यार्थी नेपाल फर्किएका छन्। नेपाल सरकारको कूटनीतिक पहलपछि कलेजले माफी माग्दै विद्यार्थीलाई फर्किन आग्रह गरे पनि कतिपयले असुरक्षित महसुस गरिरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0