पोखरा, ८ फागुन। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतकै प्रतिष्ठित सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले सम्पादकीय प्रकाशित गरेको छ। ‘भारतले आफैंलाई शिक्षित गरोस्’ शीर्षकमा प्रकाशित सम्पादकीयमा नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारको कडा आलोचना गरिएको छ।
सम्पादकीयमा भारतलाई शिक्षाको केन्द्र बनाउने सरकारको लक्ष्यमा यो घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख छ। सन् २०१४ मा दिल्लीका एक मन्त्रीले नाइजेरियन नागरिकहरूमाथि दमन गरेको घटना, कोरोना महामारीका बेला उत्तरपूर्वी भारतीयहरूमाथि गरिएको भेदभाव र हाल नेपाली विद्यार्थीहरूलाई गरिएको अपमानजनक व्यवहारले विदेशी विद्यार्थी आकर्षित गर्ने भारतको सपना अधुरो रहने चेतावनी दिइएको छ।
प्रकृति लम्सालले भारतीय विद्यार्थीबाट उत्पीडन भोगिरहेको उजुरी गरिरहेकी थिइन्। तर, विश्वविद्यालय प्रशासनले उनको गुनासोलाई बेवास्ता गर्यो। उनको मृत्युलाई ‘ब्रेकअप’को कारण भन्दै हल्का बनाउने प्रयास गरियो। जब नेपाली विद्यार्थीहरूले प्रदर्शन गरे, उनीहरूलाई जबरजस्ती रेलवे स्टेशन पुर्याइयो र विश्वविद्यालयबाट टाढै बस्न चेतावनी दिइयो।
सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा विश्वविद्यालयका कर्मचारीहरू ‘हाम्रो खर्च नेपालको बजेटभन्दा धेरै छ’ भन्दै अपमानजनक टिप्पणी गरिरहेका देखिन्छन्। घटनाले कूटनीतिक रूप लिएको थियो, जसपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विषय उठाए। भारतको नेपालस्थित दूतावासले हस्तक्षेप गरेपछि ओडिशा सरकारले माफी माग्यो। विश्वविद्यालयले निष्कासित विद्यार्थीहरूलाई फर्कन आग्रह गर्यो र विवादास्पद कर्मचारीहरूलाई जागिरबाट हटायो।
सम्पादकीयमा भारतको जातीय भेदभावपूर्ण प्रवृत्तिमाथि पनि प्रश्न उठाइएको छ। २०१३ को एक सर्वेक्षणमा भारतलाई विश्वकै सबैभन्दा जातीय विभेदयुक्त देशमध्ये एक बताइएको थियो, जसलाई धेरैले अस्वीकार गरे। तर, अफ्रिकी विद्यार्थीहरूमाथि हुने दुर्व्यवहारले ती आरोपलाई सत्य सावित गरिदिएको उल्लेख छ।
नेपाल भारतमा अध्ययन गर्न आउने सबैभन्दा ठूलो विदेशी विद्यार्थी समूह हो। २०२१–२२ मा भारतमा रहेका ४६ हजार ८७८ विदेशी विद्यार्थीमध्ये १३ हजार १२६ जना नेपाली थिए। तर, भारतले सन् २०४७ सम्म ५ लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य राखे पनि हालसम्म ५० हजारको हाराहारीमै सीमित छ। यदि भारतले आफ्नो कमजोरी सुधार्न ध्यान नदिए, विदेशी विद्यार्थीलाई आकर्षित गर्ने उसको सपना अधुरै रहने टाइम्स अफ इण्डियाको सम्पादकीय निष्कर्ष छ।





























