पोखरा, ८ फागुन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक र आर्थिक अवस्था जटिल मोडमा पुगेको बताएका छन्। बिहीबार सुर्खेतमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अमेरिकाले नेपालमा सञ्चालन गरिरहेका सहयोग परियोजना रोकिएको सन्दर्भ उठाउँदै सरकारलाई सचेत रहन आग्रह गरे।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई ‘फ्रड’ भनेको उल्लेख गर्दै यस्तो निर्णयले नेपाललाई गम्भीर असर पार्न सक्ने बताए। उनले एमसीसी लगायतका सहायता कार्यक्रम रोकिँदा नेपालले अब आर्थिक दृष्टिले झनै सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
कोइरालाले शिक्षा र स्वास्थ्य क्षेत्रमा अमेरिकाले दशकौंसम्म सहयोग गर्दै आएको चर्चा गर्दै अहिलेको परिस्थितिमा अमेरिकासँगको सम्बन्धलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने बताए। उनका अनुसार नेपाल सरकारले विदेशी सहायता कार्यक्रमहरूबारे पुनर्विचार गरेर अघि बढ्नुपर्छ।
देशको समग्र आर्थिक अवस्था कमजोर बनेको बताउँदै उनले सुशासनको स्थिति झनै नाजुक रहेको टिप्पणी गरे। राजनीतिक स्थिरताको अभाव, आर्थिक विसंगति र सुशासनको कमजोरीका कारण मुलुकले थप चुनौती झेल्न सक्ने उनको धारणा छ।
उनले दुई ठूला दल सँगै उभिँदा निरंकुश शासन आउने आशंका व्यक्त भइरहे पनि सरकारमा रहेका दलहरू र प्रतिपक्ष दुबै पक्षले खबरदारी गर्नुपर्नेमा जोड दिए। आफूहरू केन्द्रबाट खबरदारी गरिरहेको बताउँदै उनले प्रदेशस्तरमा पनि सत्ताको दुरुपयोग रोक्न नेतृत्व र कार्यकर्ताहरू सचेत हुनुपर्ने बताए।





























