पोखरा, ८ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि हताश मानसिकता देखिएको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको सन्देशलाई लिएर भट्टराईले दिएको प्रतिक्रिया असंगत रहेको उनको भनाइ छ। थापाले राजाले दल वा सरकारको आलोचना नगरेको अवस्थामा भट्टराई त्यसप्रति आक्रोशित हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

थापाले भट्टराईमाथि प्रश्न उठाउँदै राजालाई संविधानले विचार अभिव्यक्त गर्न नदिएको तर्क गलत भएको बताएका छन्। ‘ज्ञानेन्द्र शाह नागरिकका रूपमा देशको अवस्था सुधार्न सहयोग गर्न तयार रहेको बताउनुहुन्छ, तर बाबुरामजीलाई किन त्यसमा आपत्ति लागेको हो?’ भन्दै उनले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार भट्टराई र उनका अनुयायीहरूमा मात्र सीमित नभएको प्रष्ट पारे।

संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार जनतासँग रहेको भन्दै थापाले सो अधिकार कुण्ठित गर्ने अधिकार भट्टराईसँग नरहेको बताए। राजाको विचार र अभिव्यक्तिलाई निषेध गर्ने सोच नै निरंकुश र फासिस्ट प्रवृत्तिको भएको उनको आरोप छ।

थापाले १८ वर्षदेखि निरन्तर राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्र पुनःस्थापना र संघीयताको खारेजीको पक्षमा संघर्ष गरिरहेको बताए। ‘हाम्रो विचार मन पर्दैन भने जनताले अस्वीकार गर्लान्, तर नियन्त्रण गरेर देखाउनुहोस्,’ उनले चुनौती दिए।

युद्धकालमा भट्टराई स्वयंले राजासँग मिलेर जाने प्रस्ताव राखेको स्मरण गराउँदै थापाले २०६० सालको हापुरे वार्ता र संविधानसभा चुनावअघि प्रचण्डसँगको छलफलमा शाहसँग सहकार्यको प्रस्ताव गरेको दाबी गरे। उनले भट्टराईलाई परिवर्तनकारी र परम्परागत शक्ति बीच सामञ्जस्य खोज्न आग्रह गर्दै मौलिक प्रजातन्त्रको विकासमा ध्यान दिन सुझाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0