
पोखरा, ८ फागुन। बालबालिकालाई सक्षम बनाउनु हरेक अभिभावकको सपना हुन्छ। उनीहरूले जीवनमा सफलता हासिल गरून्, अग्रजहरूले प्राप्त गर्न नसकेको उपलब्धि प्राप्त गरून् भन्ने चाहना स्वाभाविक हो। तर, सफलता प्राप्त गर्ने एकमात्र बाटो किताबी ज्ञान मात्र हो भन्ने सोच राख्नु गल्ती हुनसक्छ। जीवनमा अगाडि बढ्न पढाइ अनिवार्य भए पनि सफलताको लागि व्यावहारिक सीपको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ।
समाजमा प्रायः पढाइलाई पहिलो प्राथमिकतामा राखिन्छ। बाल्यकालदेखि नै उत्कृष्ट अंक ल्याउनु, प्रतिष्ठित पेशा छान्नु नै सफलताको आधारस्तम्भ हो भन्ने सोच अधिकांश अभिभावकमा देखिन्छ। सानैदेखि बालबालिकाको मन-मस्तिष्कमा डाक्टर, इन्जिनियर, पाइलट, चार्टड एकाउन्टेन्ट वा सरकारी कर्मचारी बन्नुपर्ने धारणा स्थापित गरिन्छ। तर, वास्तविकता के हो भने, पढाइसँगै व्यवहारिक सीपको विकास नगर्ने हो भने बालबालिका भविष्यमा सिर्जनात्मक रूपमा अगाडि बढ्न सक्दैनन्।
केवल किताबी ज्ञानले मात्र सफलता हासिल गर्न नसकिने विश्वभरका उदाहरणहरूले स्पष्ट पारिसकेको छ। संसारभर ख्याती कमाएका खेलाडी, संगीतकार, उद्यमी वा अन्य विधामा सफल व्यक्तिहरू किताबी ज्ञानका कारण होइन, उनीहरूको सीपकै कारण स्थापित भएका छन्। उदाहरणका लागि, विश्वप्रसिद्ध फुटबल खेलाडी पेलेलाई हेर्ने हो भने उनको सफलता पढाइमा होइन, खेलमा रह्यो। आज उनको चर्चा गर्दा उनले कति पढे भनेर होइन, उनले कति गोल गरे भनेर मात्र भनिन्छ। त्यस्तै, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, प्रसिद्ध संगीतकार, सफल उद्यमीहरूका सफलता पनि उनकै सीपमा निर्भर छन्।
नेपालकै सन्दर्भमा हेर्ने हो भने, कतिपय सफल गायक, खेलाडी वा उद्यमीहरू केवल किताबी ज्ञानकै भरमा अगाडि बढेका छैनन्। यदि उनीहरूलाई बाल्यकालमा पढाइ मात्र प्रमुख भएको भए, उनीहरू कहिल्यै आफूलाई स्थापित गर्न सक्ने थिएनन्। अहिलेको युगमा केवल राम्रो अंक ल्याएर मात्रै जागिर पाइने स्थिति छैन। सीपयुक्त व्यक्ति विश्व श्रम बजारमा सहजै स्थापित हुन सक्छन्।
यसै सन्दर्भमा, पोखरास्थित दीप कम्प्युटर इन्स्टिच्युट जस्ता प्रतिष्ठित संस्थाहरूले सूचना प्रविधि, कम्प्युटर विज्ञान, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, प्रोग्रामिङ, नेटवर्किङ लगायतका अन्तर्राष्ट्रिय स्तरका प्रमाणपत्रसहितका कोर्सहरू प्रदान गर्दै आइरहेका छन्। यी कोर्सहरू केवल नेपालमा मात्र होइन, विश्वभर रोजगारको ढोका खोल्ने बलियो आधार बन्न सक्छन्। सूचना प्रविधिको युगमा राम्रो सीप भएका व्यक्तिहरू सहजै अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्दछन्।
यदि बालबालिकालाई वास्तविक रूपमा सक्षम बनाउने हो भने उनीहरूको रुचि पहिचान गरी तिनलाई विकास गर्ने वातावरण सिर्जना गर्नुपर्छ। समाजले के भन्छ भन्ने डरले होइन, उनीहरूको मौलिक क्षमतालाई सम्मान गर्दै अगाडि बढाउने बाटो खोज्नुपर्छ। पढाइ अनिवार्य छ, तर पढाइ मात्र पर्याप्त छैन भन्ने कुरा बुझ्न जरुरी छ। सूचना प्रविधि, डिजिटल सीप, तथा अन्य आधुनिक सीपहरू सिकाएर बालबालिकालाई भविष्यमा सक्षम बनाउन सकिन्छ। त्यसैले, समयसापेक्ष सीपयुक्त शिक्षा र तालिम प्रदान गर्ने संस्थाहरूमा बालबालिकालाई पठाउनु बुद्धिमानी हुनेछ।



























