पोखरा, ९ फागुन। वैज्ञानिकहरूले मानिसको मुखमा पाइने केही विशेष ब्याक्टेरियाहरू मस्तिष्कको स्वास्थ्यसँग सम्बन्धित हुन सक्ने बताएका छन्। यूनिभर्सिटी अफ एक्सटरले गरेको एक अध्ययन अनुसार केही किसिमका ब्याक्टेरियाहरू राम्रो स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमतासँग जोडिएका छन् भने केही ब्याक्टेरियाहरू डिमेन्सिया र एल्जाइमर्स रोगको कारक बन्न सक्छन्।

उक्त अध्ययनमा ५० वर्ष उमेर पार गरेका ११५ जना स्वयंसेवी सहभागी थिए। तिनीहरूलाई दुई समूहमा बाँडिएको थियो— एक समूहमा मस्तिष्क स्वास्थ्य सामान्य रहेका व्यक्ति थिए भने अर्को समूहमा हल्का बोधात्मक समस्या देखिएकाहरू। अनुसन्धानकर्ताहरूले उनीहरूबाट मुख कुल्ला गरेको पानी संकलन गरी त्यसमा रहेका ब्याक्टेरियाको संख्या तथा प्रकारको विश्लेषण गरे।

अध्ययन अनुसार नाइसेरिया र हिमोफिलस नामक ब्याक्टेरिया धेरै भएका व्यक्तिहरूको स्मरण शक्ति राम्रो पाइयो भने पोर्फाइरोमोनास ब्याक्टेरियाको उच्च उपस्थितिले स्मरण क्षमतामा समस्या ल्याउने देखियो। साथै, कम नाइट्रेट भएको प्रेभोटेला समूहको ब्याक्टेरिया बढी भएकाहरूमा एल्जाइमर्स रोगको जोखिम रहेको पत्ता लाग्यो।

प्रमुख अनुसन्धानकर्ता डा. जोआना ल’अरेएका अनुसार मुखमा पाइने ब्याक्टेरियाले मानिसको सोच्ने क्षमतामा गहिरो प्रभाव पार्न सक्छ। उनले भने, “भविष्यमा मुख सफा गरेका पानीका नमुना परीक्षण गरेर कोही व्यक्तिलाई एल्जाइमर्सको खतरा छ कि छैन भनेर पहिले नै अनुमान गर्न सक्ने सम्भावना छ।” सह-लेखक प्राध्यापक याना कर्बेटले मुखका ब्याक्टेरियालाई सन्तुलित राख्ने उपायहरू खोजेर डिमेन्सियाको जोखिम घटाउन सकिने बताइन्।

विशेषज्ञहरूले हरियो सागसब्जी, विशेषगरी पालुङ्गो, चुकन्दर र सलाद खान सल्लाह दिएका छन्, जसले शरीरमा नाइट्रेटको मात्रा बढाएर लाभदायक ब्याक्टेरियाको वृद्धि गर्न सक्छ। साथै, अत्यधिक प्रशोधित चिनी भएका खानेकुरा तथा मदिरा परित्याग गर्न सुझाइएको छ।

यो अनुसन्धान प्रारम्भिक चरणमा रहे पनि यसले मुखको स्वास्थ्य र मस्तिष्कको सम्बन्धबारे गहन संकेत दिएको छ। वैज्ञानिकहरू आगामी दिनमा थप अध्ययन गर्दै रोगको प्रारम्भिक पहिचानका लागि नयाँ विधि विकास गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।

स्रोतः बिबिसी

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0