पोखरा, ९ फागुन। नेपालका विश्वविद्यालय विद्यार्थी अभावको संकट भोगिरहेका बेला भारतका विभिन्न शैक्षिक संस्थामा भने नेपाली विद्यार्थीको संख्या दिनानुदिन बढ्दै गएको छ। नेपालका विश्वविद्यालय विद्यार्थी नपाएर छटपटाइरहेका छन्, तर सीमापारिका विश्वविद्यालयमा नेपाली विद्यार्थीको घुइँचो लागिरहेको छ।
हालै सार्वजनिक तथ्यांक अनुसार, भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (किट) मा मात्र झण्डै १,५०० नेपाली विद्यार्थी अध्ययनरत छन्। यता नेपालका केही विश्वविद्यालयमा भने मुस्किलले ५०० विद्यार्थी पुगेका छन्। विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार, राजर्षिजनक विश्वविद्यालयमा ५२७ जना विद्यार्थी मात्र छन् भने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा त जम्मा १५ जना विद्यार्थी अध्ययनरत छन्।
नेपाल खुला विश्वविद्यालयमा १,६३४ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा १,८३२ विद्यार्थी अध्ययन गरिरहेका छन्। प्रादेशिक विश्वविद्यालयहरूको अवस्था झनै दयनीय छ। शिक्षाविद्हरूका अनुसार समयमा पाठ्यक्रम परिमार्जन नहुनु, परीक्षा सञ्चालन भए पनि नतिजा समयमा नआउनु जस्ता समस्याले विद्यार्थी आकर्षित गर्न नसकिएको हो।
भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीको संख्या उल्लेख्य छ। यद्यपि, भारतमा पढ्न जाने नेपाली विद्यार्थीहरूको यकिन तथ्यांक छैन, किनकि त्यहाँ अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र आवश्यक पर्दैन। परामर्श व्यवसायीहरूका अनुसार भारतमा करिब १५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन्।
नेपाली विद्यार्थीको मुख्य आकर्षण सूचना प्रविधि, नर्सिङ, इन्जिनियरिङ जस्ता विषयहरूमा देखिन्छ। भारतीय विश्वविद्यालयहरू निजी लगानीमा सञ्चालित छन्, जसले समयसापेक्ष पाठ्यक्रम र आकर्षक शैक्षिक सुविधा प्रदान गर्ने भएकाले विद्यार्थीहरू भारततर्फ आकर्षित भएका हुन्। नेपालका विश्वविद्यालय भने सरकारी नियन्त्रणमा रहेर व्यवस्थापन समस्याले थलिएका छन्।
शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलका अनुसार, “नेपालका विश्वविद्यालयमा विद्यार्थी घट्नुको प्रमुख कारण राजनीतिक हस्तक्षेप, पुरानो प्रणाली र प्रशासनिक कमजोरी नै हो। विश्वविद्यालय पदाधिकारीहरू भागबण्डाका आधारमा नियुक्त हुन्छन्, जसले विद्यार्थीको समस्या समाधानमा चासो दिँदैनन्। यो क्रम रोकिएन भने नेपाली उच्च शिक्षाको भविष्य नै संकटमा पर्न सक्छ।”
भारतमा हरेक वर्ष करिब ५० हजार विदेशी विद्यार्थी उच्च शिक्षाका लागि पुग्छन्, जसमा नेपाली विद्यार्थीको हिस्सा करिब २५ प्रतिशत रहेको अनुमान छ। यद्यपि, सरकारले आधिकारिक तथ्यांक संकलन नगरेकाले वास्तविक संख्या यकिन गर्न सकिएको छैन।
शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार, नेपालका विश्वविद्यालयहरूले समयानुकूल सुधार नगर्ने हो भने विद्यार्थीको पलायन अझै तीव्र हुनेछ। सरकारले उच्च शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई स्वदेशमै रोक्न नीतिगत पहल नगरेसम्म यो समस्या गम्भीर बन्नेछ।




























