पोखरा, १० फागुन। नेपाल, भारत र चीनका पर्यटन व्यवसायीहरू आगामी सोमबारदेखि पोखरामा भेला हुँदैछन्। ‘नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस)’ नाम दिइएको यस तीनदिने व्यावसायिक मेलाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरूको विश्वास छ। पर्यटन व्यवसायीहरूको भेटघाट (बिटुबी) तथा अनुभव आदान-प्रदान हुने यस भेलाले पोखराको पर्यटन क्षेत्रमा विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्को सहकार्यमा आयोजना गरिने एक्स्पोमा नेपालका १४०, भारतका ३० र चीनका ५५ व्यावसायिक घराना सहभागी हुँदैछन्। परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार सहभागिता जनाउन चाहने व्यवसायीहरू धेरै भए पनि उत्कृष्टहरू छानिएको छ। ‘यो एक्स्पो व्यवसायीहरूका लागि बजार विस्तार गर्न ठूलो अवसर हो,’ उनले भने, ‘गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा पनि एक्स्पोले टेवा पुर्याउनेछ।’
विदेशी व्यवसायीको पोखरा आगमन सुरु भइसकेको छ। चिनियाँ टोली शनिबार नै पोखरा आइपुगेको छ भने भारतीय व्यवसायी पनि शनिबार नै पोखरा आउने कार्यक्रम रहेको छ। आइतबार उनीहरूलाई पोखराका विभिन्न पर्यटकीय गन्तव्य घुमाउने योजना बनाइएको छ। ‘सनराइज टु सनसेट’ प्याकेजअन्तर्गत साहसिक पर्यटकीय गतिविधिहरू अनुभव गराउने तयारी गरिएको पहारीले बताए।
यस एक्स्पो नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो। पाटा नेपालले सहभागिताका लागि व्यवसायीहरू छानेको हो। आयोजकका अनुसार प्रत्येक व्यवसायीले कम्तीमा ७० अन्य व्यवसायीसँग भेटघाट गरी पर्यटन बजार विस्तार गर्नुपर्नेछ। भारत र चीनलाई नेपालको पर्यटन बेच्ने अवसरका रूपमा पनि एक्स्पोलाई हेरिएको छ।
पाटा नेपालका सदस्य दिनेश महर्जनका अनुसार पोखरालाई ‘माइस’ (सभा, सम्मेलन तथा प्रदर्शनी) पर्यटन गन्तव्यका रूपमा विकास गर्न एक्स्पोले सहयोग गर्नेछ। ‘पोखरा साहसिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ, तर अब माइस पर्यटन गन्तव्यका रूपमा पनि प्रवर्द्धन गर्नुपर्छ,’ महर्जनले भने।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ मा नेपालमा ३ लाख १७ हजार ७७२ भारतीय पर्यटक र १ लाख १ हजार ८७९ चिनियाँ पर्यटक भित्रिएका थिए। नेपाल, भारत र चीनका पर्यटन व्यवसायीहरू एउटै स्थानमा भेला हुँदा आपसी सहकार्य बलियो हुने र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।
दुई ठूला अर्थतन्त्र भारत र चीनलाई एउटै मञ्चमा ल्याई नेपालको पर्यटन व्यवसायिक सम्भाव्यता प्रवर्द्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको आयोजकले जनाएका छन्। यसले तीन देशबीचको पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।































