
पोखरा, १० फागुन। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। उनले यस घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीका लागि उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोन संवाद गर्दै आग्रह गरेकी छन्।
परराष्ट्रमन्त्री देउवाले घटनाका दोषीमाथि उचित कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीको सुरक्षामा कुनै सम्झौता गर्न नहुने र उनीहरूको अध्ययन वातावरण सुनिश्चित गर्न आवश्यक पहल गरिदिन अनुरोध गरिन्। साथै, नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई अस्थायी रूपमा मात्र होइन, स्थायी रूपमा बर्खास्त गर्न समेत उडिसा सरकारले पहल गर्नुपर्ने माग राखिन्।
उनले घटनाबारे विस्तृत छानबिनका लागि गठित समितिमा नयाँदिल्लीस्थित नेपाली दूतावासका कूटनीतिक अधिकारी संलग्न भई आवश्यक समन्वय गर्नुपर्ने आवश्यकता औंल्याइन्। यसक्रममा मुख्यमन्त्री माझीले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै दोषीमाथि कडा कारबाही गर्न राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको जानकारी गराए। उनले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि उडिसा सरकारले सबै आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।
परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास, उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा निकायहरू निरन्तर समन्वयमा रहेको जनाइएको छ। नेपाली विद्यार्थीको सुरक्षामा कुनै कसर बाँकी नराख्ने र न्याय सुनिश्चित गरिने परराष्ट्र मन्त्रालयको भनाइ छ।






























