पोखरा, ११ फागुन। बलिउड अभिनेत्री नरगिस फाखरीले आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन्। लस एन्जलसमा आयोजित एक निजी समारोहमा परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थितिमा यो जोडी वैवाहिक जीवनमा बाँधिएको हो।
टाइम्स अफ इन्डियाका अनुसार, उनीहरूले अत्यन्त गोप्य रूपमा विवाह सम्पन्न गरेका कारण समारोहका कुनै तस्बिर सार्वजनिक गरिएको छैन। विवाहपछि नरगिस र टोनी स्विट्जरल्याण्डमा हनिमून मनाइरहेका छन्। नरगिसले आफ्नो इन्स्टाग्राम स्टोरीमा टोनीसँगको तस्बिर सेयर गर्दै आफ्नो नयाँ जीवनको सुरुवातबारे संकेत दिएकी छन्।
तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेका टोनी बेग कश्मीरी मूलका व्यापारी हुन्, जो हाल लस एन्जलसमा बस्दै आएका छन्। नरगिस यसअघि अभिनेता उदय चोपडासँग प्रेम सम्बन्धमा थिइन्, तर २०१९ मा उनीहरू अलग भएका थिए।
नरगिस फाखरी बलिउडमा रणवीर कपूरसँगको फिल्म ‘रकस्टार’ बाट चर्चित भएकी थिइन्। उनले ‘मद्रास क्याफे’, ‘मैं तेरा हिरो’, ‘अजहर’ लगायतका फिल्ममा अभिनय गरेकी छन्।





























