पोखरा, ११ फागुन। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले संसदमा राजनीतिक बहस चर्किएको छ। आइतबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा पूर्वराजाको वक्तव्यको गम्भीर छलफल भएको थियो।
प्रतिनिधि सभाको आकस्मिक समयमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले शाहको अभिव्यक्तिलाई गणतन्त्रविरोधी भन्दै चुनाव लडेर आफ्नो शक्ति परीक्षण गर्न सुझाव दिइन्। उनले जनताको बलिदानीबाट आएको व्यवस्थामाथि प्रहार स्वीकार्य नहुने स्पष्ट गरिन्।
उनको भनाइलाई चुनौती दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहको अभिव्यक्तिलाई उचित ठहर गरे। उनले गणतन्त्र लूटतन्त्रमा परिणत भएको दाबी गर्दै यसको विरोध जारी राख्ने बताए। एमाले सांसद गोकुल बास्कोटाले व्यंग्य गर्दै राजालाई फर्काउन आन्दोलन गर्नु नपर्ने, प्लेन टिकट काटिदिए पुग्ने टिप्पणी गरे।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राजतन्त्रबारे जनमत संग्रहको माग राखे। उता, माओवादी केन्द्रकी सांसद छिरिङ डम्डुल लामाले शाहको अभिव्यक्तिलाई अस्वीकार्य भन्दै आलोचना गरिन्।
राष्ट्रिय सभामा पनि यो विषय प्रवेश गरेको थियो। पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले शाहलाई दल खोलेर चुनाव लड्न सुझाए। उनले राजतन्त्र फर्काउन खोजे नेपालमा बेलायत वा फ्रान्सको इतिहास दोहोरिन सक्ने चेतावनी दिए।
फागुन ६ गते जारी भिडियो सन्देशमा शाहले देशको अवस्था बिग्रँदै गएको भन्दै अब चुप लागेर नबस्ने बताएका थिए। उनले सर्वसाधारणलाई खुलेर समर्थन गर्न अपिल गरेका थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत शाहको अभिव्यक्तिको विरोध गरे। भने, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शाहको पक्षमा बोलेका थिए।


























