पोखरा, १२ फागुन। सरकारले श्रम सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ। सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता र सोको प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।
अबुधाबीबाट तीन सय किलोमिटर पूर्वको उजारेखमा घुम्ती शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको छ। यस शिविरमा तीन सयभन्दा बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो। कार्यक्रममा विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावासबाट श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था र वित्तीय साक्षरता जस्ता विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो।
उक्त घुम्ती शिविरमा फूजैरहा इमिरेट्स र सोको आसपासका २१६ जनाको राहदानी नवीकरण गरिएको दूतावासले जनाएको छ। युएईमा कार्यरत नेपालीहरूको सङ्ख्या करिब ६ लाख रहेको र यो क्रम निरन्तर बढिरहेको अवस्थामा दूतावासले सेवा र सुविधालाई मध्यनजर गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै आएको छ। गत आर्थिक वर्षमा यस नियोगबाट ४६ हजार चार सय राहदानी जारी भएका थिए, जबकि चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३० हजार नेपालीको राहदानी जारी भइसकेको छ।
राहदानीको म्याद समाप्त भइसकेका, भिसाको म्याद समाप्त भइसकेका र राहदानी हराएका व्यक्तिहरूको प्राथमिकता गरी दूतावासले राहदानी नवीकरण गर्दै आएको छ।




























